Monday, January 28, 2019

'जीवन रहस्य हो, समस्या होइन'

रामकृष्ण परमहंस र उनका चेला स्वामी विवेकानन्दका बीचको यो संवाद 'कबाडखाना' नामक एक हिन्दी ब्लगबाट लिइएको हो ।

स्वामी विवेकानन्द : समय निकाल्नै गाह्रो हुने, यता उता दौडधुप गर्दैमा फुर्सद नपाइने !

रामकृष्ण परमहंस : गतिविधिहरूले तिमीलाई व्यस्त राख्छन्, उत्पादकर्ताले स्वतन्त्र बनाउँछ ।

स्वामी विवेकानन्द : आज जीवन यति जटिल किन छ ?

रामकृष्ण परमहंस : जीवनलाई विश्लेषण गर्न बन्द गरिदेऊ । यसले जीवनलाई झन् जटिल बनाउँछ, जीवनलाई मात्र जिऊ व्याख्या नगर ।

स्वामी विवेकानन्द : हामी सधैं किन दु:खी हुन्छौं ?

रामकृष्ण परमहंस : केही न केही कुराले चिन्तित रहनु तिम्रो बानी बनिसक्यो । यसैकारण तिमी खुसी हुन सकिरहेका छैनौं ।

स्वामी विवेकानन्द : असल मान्छेले सधैं किन दु:ख पाउँछन् ?

रामकृष्ण परमहंस : हीरा रगडिएपछि मात्रै चम्किन्छ । शुद्ध हुनका लागि सुनलाई आगोमा पकाउनुपर्छ, खार्नुपर्छ । त्यस्तै असल मानिसहरूले दु:ख पाउने होइन, उनीहरूले परीक्षाहरूबाट गुजि्रनुपर्छ । यस अनुभवबाट उनीहरूको जीवन झन् राम्रो हुन्छ, यो अनुभव बेकार जाँदैन ।

स्वामी विवेकानन्द : तपाईंको मतलब यस्तो अनुभव उपयोगी हुन्छ ?

रामकृष्ण परमहंस : हो, हरेक ढंगबाट हेर्दा अनुभव एउटा कठोर शिक्षकजस्तो हुन्छ, जसले पहिले परीक्षा लिन्छ र पछि शिक्षा दिन्छ ।

स्वामी विवेकानन्द : अनेक समस्याले घेरिइरहने भएकाले होला, हामीलाई आफू कता जाँदैछु भन्ने थाहा हुँदैन....

रामकृष्ण परमहंस : यदि तिमी बाहिरी दुनियाँतिर मात्र हेर्छौ भने कहाँ जाँदैछौ भन्ने थाहा पाउनेछैनौ । यसका लागि आफ्नो मनभित्र चियाउनुपर्छ । आँखाले केवल दृष्टि दिन्छ, हृदयले बाटो देखाउँछ ।

स्वामी विवेकानन्द : के असफलता सही बाटोमा हिँड्नुभन्दा पनि पीडादायी हुन्छ ?

रामकृष्ण परमहंस : सफलता त्यो मानक हो जो अरू मानिसले निर्धारण गर्छन्, सन्तुष्टिको मानक तिमी आफैंंले निर्धारण गर्छौ । सन्तुष्ट हुनलाई अरूको मत चाहिंदैन ।

स्वामी विवेकानन्द : कठिन समयमा पनि उत्साह जोगाइराख्ने उपाय के हो ?

रामकृष्ण परमहंस : जहिले पनि अझै कति हिँड्न बाँकी छ भन्नेमा होइन कि अहिलेसम्म कति हिँड्न सकेछु भन्नेमा ध्यान देऊ । जे जति पाइएको छ त्यसको गणना गर, जे पाइएन त्यसलाई होइन ।

स्वामी विवेकानन्द : मानिसहरूको कुन कुराले तपाईंलाई अचम्म लाग्छ ?

रामकृष्ण परमहंस : जब उनीहरू कष्टमा हुन्छन् तब भन्छन्- म नै किन ? जब सुखमा डुबिरहेका हुन्छन्, त्यो बेला कसैले सोच्दैन- म नै किन ?

स्वामी विवेकानन्द : मैले आफ्नो जीवनको सर्वोत्तम कसरी प्राप्त गर्न सक्छु ?

रामकृष्ण परमहंस : बिनाकुनै पश्चात्ताप आफ्नो अतीतको सामना गर । पूर्ण आत्मविश्वासका साथ आफ्नो वर्तमानलाई सम्हाल । र, निडर भएर आफ्नो भविष्यको तयारी गर ।

स्वामी विवेकानन्द : एउटा अन्तिम प्रश्न, कहिलेकाहीँ मलाई लाग्छ मेरा सारा प्रार्थनाहरू बेकार गइरहेका छन् । यस्तो किन हुन्छ ?

रामकृष्ण परमहंस : कुनै प्रार्थना बेकार जाँदैन । आफ्नो आस्था जोगाइराख र डरलाई नजिक आउन नदेऊ । जीवन एउटा रहस्य हो, जसको तिमीले खोज गर्नु छ, जीवन कुनै समस्या होइन, जसलाई हल गर्नुपरोस् । मेरो विश्वास गर- यदि तिमीले बाँच्ने कसरी हो भन्ने थाहा पायौ भने जीवन साँच्चिकै आश्चर्यजनक छ । 

स्रोत : कान्तिपुर दैनिक
प्रकाशित : कार्तिक १५, २०७१ १३:२२





Sunday, January 13, 2019

हृदय र प्रेम- [कविता]

हृदय
जसमा घृणा र प्रेम दुबै अटाउछन् ।
सन्तुलनमा राखेर यी सबैलाई- बाँच्नु    
अनवरत मृत्युपर्यन्त कर्तव्य -हृदयको ।

उर्लिएर प्रेम- भित्र कतै हृदयमा
आँखाको बाटो भएर बग्दै गर्दा
मैले कयौंपटक आफैलाई ढाँटेको छु
कि यो मेरो प्रतिरुप होईन भनेर ।।

शब्द वाण बिझाउदा हृदयमा-चसक्क
मैले आफ्नै धड्कनको चाल सुन्दै
मुटुको ग्राफ पढेर यसैको लयमा
धेरै गितहरु कोरेको छु ।

मौन रहेरै पनि धेरै शब्द बोल्ने
उसका निर्जल एकजोर नयनहरुमा
कति इन्द्रधनुष र कविताका हरफहरु
म पढिरहेको हुन्छु । देखिरहेको हुन्छु ।।


                                                                                                  - रचनाकाल माघ १ २०७५

Wednesday, January 2, 2019

अनुहार - घनश्याम अस्तित्व [कविता]

अनुहार

 अनुहार देखिन त देखिन्छ सधै 
उदास उदास - यो चेहरा !

रोपेर छुरा सोंचको छातीमा 
नगरू भन्छु - मुश्कानको झुट खेती 
तिम्रै कारण पनि 
तिमीलाई नदुखाउ भन्छु 
नबोलु भन्छु - तिम्रो कुटीलता बिरूद्व

छ न त छ नि !  
एउटा उदास चेहरा 
 पहिरोहरू सहिरहने हृदय ।

सबै गुनासाहरू पोलेर आएको छु ! 
कि महान ज्ञान यो पनि थाहा छ,  
मेरो जिन्दगीको मुख्य खलपात्र - म आफै हुँ ।







घनश्याम अस्तित्व मेरा अत्यन्तै मिलनसार, दयालु र मेहनती मित्र हुन् । दाङको एक निजी विद्यालयमा अध्यापन गर्ने शिलसिलामा  उनिसंग झन्डै ६-७ महिना साहित्यीक भलाकुसारि गर्ने मौका मिल्यो । नेपाली साहित्यमा प्रखर कवि उनका शब्द निकै चोटीला र गहकिला हुन्छन् । शब्दलाई टपक्क टिपेर सुन्दर शैलीमा कविताको जन्म गराउन उनि निकै सिपालु छन् । साच्चिकै भन्दा उनको यो खुबि देखेर  मलाई भित्रभित्र  डाह जस्तो केही हुन्छ । आफुलाई प्रकृती प्रेमी बताउने अस्तित्व प्युठानको माडीमा पाखा पखेरा पहाड कन्दरा संग खेल्दै  हुर्किएका हुन् । लामो समय पश्चात फेरी उनिसंग अनलाईन वार्तालाप गर्ने साईत जुर्यो । यही मौकामा कविता पैंचो मागेर मेरो ब्लगको भित्तामा सजाउने मौका एंव अनुमति पाए- यस कुरामा कवि प्रति अत्यन्तै आभारी छु । उनको उज्वल भविष्यको कामना गर्दछु । 
                                                
                                                                                                                 - ब्लगर 

प्रिय भाई [कविता]

प्रिय भाई ।


तिमी चढेको विमानले पखेटा फिजाएर उडान भर्दा
हात हल्लाउदै तिम्रो झ्याल तिर सोझिएका 
कति गह्रौ थिए होलान् हाम्रा हातहरु ।

गहभरी आसु पार्दै  मुटुमा ढुंगा राखेर 
जब तिमी चढ्यौ त्यो विमान 
र गायव भयौ छिनभरमै निलो आकासमा
के तिमीले देख्यौ आमाको ओसिला आँखाहरु ?


धेरै दिनसम्म चिसिईरहे आमाका आँखाका परेलीहरु
र बा भक्कानिदै फर्केर कुनापट्टी भन्नुहुन्छ
"अब त छोरो पुग्यो पनि होला....."
म के बोलु यी परस्थितीहरुमा भाई ?

र पस्किदै स्नेह थालीमा यता
भात खाने बेलामा बहिनी गुनासो गर्छे
उता सान्दाईले खायो होला कि नाई ?
म चुपचाप चुपचाप हुन्छु र सुन्छु  मात्रै ।