Friday, February 1, 2019

"रहर"- कविता

हागाबाट झरेको फुललाई पनि त हुँदो हो 
फुलिरहने एउटा रहर
जस्तो बाँच्ने रहर हुँदाहुँदै पनि
चितामा जलिरहन्छ  एउटा लास ।
वर्षातमा झरिको थोपा पनि
तल धर्तिमा खस्दै गर्दा सोँच्दो हो
बादल बनेर उडिरहन पाएको भए
तर
गुरुत्वाकर्षणको त्यो नियम
जसलाई नमानी सुखै छैन
झर्नु खस्नु र मर्नु नै त रहेछ आखिर
सबैलाई एकदिन यसैगरी

उमेर स्तम्भका श्रृंखलाहरु चढ्दै गर्दा
कैयौपटक मैले आफ्नै
मृत्युको छाँया देखेको छु
करुणाहीन
ब्याधाले छोेडेको तिर मुटुमा रोपिनु अघि
छटपटिएर प्राण त्याग्नु अघि
जसरी एउटा मृगको अन्तिम चित्कार
विलीन हुन्छ शुन्यतामा 
आफ्नै हंसले मृत शरिरलाई घन्टौसम्म 
चिहाईरहन्छ अभिलाषाका अवशेषहरु छन् कि कतै ?
प्रायश्चितका टाटाहरु कतै छन् कि  भनेर
प्रायश्चितका टाटाहरु कतै छन् कि भनेर....।













रचनाकाल : माघ १९ संवत २०७५ साल (शनिबार)

2 comments:

  1. राम्रो रचना वसन्त सर अझै उन्नतिको कामना

    ReplyDelete
    Replies
    1. हजुरलाई धेरै धुेरै धन्याबाद । तर हजुर जो शुभचिन्तक भएर मेरो साहित्यीको कामना गर्नु भो, मैले यहाँलाई चिन्न सकिन ।

      Delete