Tuesday, May 21, 2019

कालकोठरीका चिसा रातहरु - (कविता)


त्यो रात दिल खोलेर आकाश रोएपछी
बादलको घुम्टो पन्छाएर 'जून' मुस्कुराएथ्यो
र मैनवत्तिको मधुरो प्रकाशमा
एउटा कविता लेखेथे
आज त्यही कवितामा पाउदैछु - आफ्नै प्रतिविम्व
 तिमी त्यही रातको 'जून' जस्तै मुस्कुराइरहन्छ्यौ
 मेरा स्मृतिका विस्मृत श्रीङ्खलाहरुमा ।

अहो ! समयले पनि कति छिट्टै रंग फेरिसकेछ
 कति छिटै फेरिएछन पालुवाहरु
कति छिटै बदलिएछन् यी मान्छेहरु
 तर बदलिएनन्
यी पिडाका शृङ्खलाहरु
 फेरिएनन्
कालकोठरीका  चिसा रातहरु
 पलाएनन्
फेरि उमंगका टुसाहरु ।

 मात्र दुखका प्रकार फेरिए,
आँसु खसाल्ने शैली फेरियो ।
केवल चोट दिने पात्रहरु फेरिए ।

हृदयलाई मैन बनाएर
सोच्दै छु
म पनि त्यो पत्थरको शालिक भैदिएको भए
 कम्तिमा बाच्नुपर्ने थिएन होला
आखाभरी समुन्द्र बोकेर
छातिभरी पहिरो बगाएर
हृदयभरी ज्वालामुखी फुटाएर


हिजो फेरी त्यसैगरि गर्जीयो आकाश
भयो काला बादलहरुको घमासान युद्दपछि - अतिवृष्टी
फेरि सिन्चित भए धुजाधुजा गरि फाटेका जमिनहरु
पखालियो धुलाम्मे सडक र मुक वृक्षहरु ।

फरक यत्ति छ,
पहिले तिमी थियौ,
आज मौनता छ
पहिले तिमी फुल्थ्यौ,
आज क्याक्टस फुलेको छ

चुपचाप चुपचाप मेरा कहानी सुनिदिने बहिरा भित्ताहरु छन्
आर्यघाट जस्तै लाग्ने एष्ट्रे छ
वस् !
फोक्सोले कर्तव्य बिर्सेको छैन
रक्तसञ्चार रोकिएको छैन ।।