Saturday, December 29, 2018

भर्चुअल लभ -कविता

भर्चुअल लभ                -घनश्याम अस्तित्व (हाल प्युठान)
                                 
  
मोबाइल बजिरहेछ यतिबेला
अनलाइन आगमनको सन्देश बोकेर...
माटोमा बेल्चा धसे झैँ
पनियो धसेर राइसकुक्करमा
श्रीमतीले निकालेको थप
आहाराको कुरा छोडौ
मैले त छोडिसक्नु परेको छ
 खाँदाखाँदैको गास पनि

(यतिबेला मैले बिर्सन्छु
मेरो हतारोको आगोले
जलिरहेकि श्रीमति हेर्न पनि )

अब उघार्छु - नेट गेट
पस्छु - अनलाइन रूममा
 र छिर्छु - फेसबुक दुनियातिर
धेरै भइसकेको छ - म जन्मिएको
 त्यसैले फराकिलो छ यो फेसबुक दुनिया पनि
 अब मैले समाउछु - च्याट रोडलाई हिँड्दाहिँड्दै ऊ भेटिएपछि –
चिमोट्छु बेसरी र अक्षरहरू प्रेम बोल्छन् - मौन भाषामा

"खाना खायौ ?"
- आधा खाए
"किन ?" -आधा तिम्रो मिसकलले अघाए  
 ............... (के-के हो ? के-के ?)

बोलाइसकेपछि उसले
म भिडियो कलको झ्याल भएर छिर्छु
उसको कोठामा

मुश्कानको बदलामा मुश्कान
हगको बदलामा हग
किसको बदलामा किस के के हो ?
के के हो ? ....... हैट् ।

" जुनेली, जुनेली " भन्दै मातेको स्वरमा 
ढोका ढक्ढक्याएपछि
 उसको श्रिमानले एकाएक भाग्दिइ ऊ अफलाइनमा
 ( रियल दुनियातिर... )

हैट् ! कस्तो प्रेम ! कस्तो जिन्दगी ! 
( हातले टाउको हानिसकेछ ।)
झ्यापझुप अँध्यारो हुलेर - अनलाइन रूममा
म निस्कन्छु र पस्छु - उज्यालो कोठातिर
रिसाउदै निदाएको बहानामा भित्ता फर्केर पल्टेकि छे
 श्रिमती फकाउछु अब उसलाई 
यो सब उत्तेजना खन्याउनुछ मैले पनि ।
Image result for virtual love
                                






No comments:

Post a Comment