Thursday, April 25, 2019

गजल - सुनिल बसौला

आशीर्वाद लिन पैताला छुन्छ निदारले पनि
किन भाग्यलाइ दोषी बनाउछ हारले पनि 



अरे मान्छेहरु सम्बन्धका लागि प्रेम गर्दैछन 
अचानो बनाएको छ मलाइ त प्यारले पनि 



आखामा छोरा राखेर क्षितिज कुर्ने आमा 
छोराको लास पो ल्याएछ अखाबारले पनि



 बुद्ध बन्ने रहरले मलाइ हिटलर बनाएको हो
 अपराधीलाइ छुटकारा दिन्छ कारागारले पनि 



यसकारण अल्झिएको गल्बन्दि तान्न सकिन 
उहि बाटो फर्किन दिएन तिम्रो अनुहारले पनि

Monday, April 22, 2019

अमृता, साहिर र इमरोजको पागल प्रेम

-अनुपम पोख्रेल
धेरैपल्ट धेरैले सुनाएको कथा हो, यो । न उमेरको सीमा हुन्छ प्रेममा, न जन्मका बन्धन हुन्छन् भनेर ठ्याक्कै उदाहरण दिनुपर्दा यिनीहरूकै कथा हाल्ने गर्छन् कवि, लेखकहरू । बलिउडका अनेक निर्देशकले अनेक पल्ट सिनेमा बनाउने कल्पना गरेको कथा हो, यिनीहरूको । प्रेम गरेर गरिँदैन । खै कसरी कसरी, आफैं हुन्छ ।
हामीले गरेर हुने भए त कोही कसैलाई घृणा नै किन पो गथ्र्याे होला ? संसारमा वैरभाव नै प्रबल किन पो हुन्थ्यो होला ? हिजोसम्म सामान्य लाग्ने गरेको मान्छे, आज ऊसँग प्रेम भएपछि ऊ नै ईश्वर हो झैं लाग्न थाल्छ । प्रेम नै त हो, जसको प्रकाशमा हामीभित्रको काव्य प्रतिभा प्रस्फुटित हुन्छ । प्रेम नै नगरेको लेखक के
लेखक ? कवि के कवि ? चित्रकार के चित्रकार ? 
प्रेममा नियम पनि हुँदैन । कुनै वर्जना यसले टेर्दैन । प्रेम त प्रकृति हो । प्रकृति निर्बाध हुन्छ । यसले कुनै छेकछन्द जान्दैन । जीवनमा शान्ति र हाइसन्चो चाहनेले प्रेम नगरे हुन्छ । यसले कहाँ डढाइदिन्छ, कहाँ भिजाइदिन्छ त्यसको ठेगान हुँदैन । कसैले भनेका छन् कतै, ‘पानीजहाज सबैभन्दा सुरक्षित समुद्रको किनारमा हुन्छ । त्यसो भन्दैमा त्यो किनारमा बसिरहनकै लागि भनेर बनेको हैन ।’ 
प्रेममा दुख, कष्ट होला तर मान्छे प्रेम नगर्न बनेको होइन । प्रेम आफैंमा एउटा कला हो । त्यसमाथि जब दुई कलाकार एकआपसमा चुर्लुम्म डुबेर समाजका नियमहरूलाई नटेरी एकअर्कालाई प्रेम गर्छन्, तब के हुन्छ ? सुफी सन्त कवि रुमी लेख्छन्, ‘भाषा, नियम कानुन अनि सही र गलतको धारणाभन्दा धेरै पर एउटा मैदान छ । म तिमीलाई त्यहीँ भेट्ने छु ।’ ठ्याक्कै त्यस्तै भयो यिनीहरूको जीवनमा पनि ।
कथा हो, अमृता प्रीतम र इमरोजको । यसमा मध्यान्तरअघिका नायक भने अर्कै छन् ।
सन् चालीसको दशक थियो । भारतका गल्लीगल्लीमा आशाको लहर छाएको थियो । छिट्टै भारत स्वतन्त्र हुनेवाला थियो । यस बेला मानौं त्यहाँको हावामा पनि परिवर्तनकै
सुवास बहेको थियो । स्वतन्त्र भारतको सपना देखेर घरघरबाट इन्कलाबका नारा घन्किन थालेका थिए । स्वतन्त्रता संग्रामको यो महायज्ञमा आफ्ना तर्फबाट सकेको जति योगदान गर्न सबै तम्सिएका थिए । कोही हतियार लिएर, कोही कविता लिएर । 
भारत युगान्तकारी परिवर्तनको सँघारमा थियो । लाहोरका सडक आफ्नो कविताको रापले रन्काइरहेका थिए, आगो ओकलिरहेका थिए कवि साहिर लुधियानवी । यही समयमा, सुन्दरताकी प्रतिमूर्ति मानिएकी कवयित्री अमृताले प्रीतम साहिरसँग एकतर्फी प्रेम गर्न थालिन् । अमृताको सुन्दरताको वर्णन गर्दै कुनै समकालीन साहित्यकारले लेखेका छन्, ‘सिंगमर्मरमा कुँदेर बनाइएकी, मन्दिरमा राखेर पुजिनुपर्ने, राधाकी मूर्तिजस्ती ।’
सोह्र वर्षकै उमेरमा एक धनाढ्य व्यापारीसँग उनको विवाह भएको थियो । विवाह सुखद थिएन । आफ्नो वैवाहिक जीवनमा पाउन नसकेको प्रेम यिनले साहिरका कवितामा भेट्टाउन थालिन् र उनैलाई मनमनै प्रेम गर्न थालिन् । 
सन् १९४४ को कुनै महिना यिनीहरूबीच पहिलो भेट भयो लाहोर र दिल्लीबीचको गाउँ प्रीतनगरमा आयोजित एउटा कवि गोष्ठीमा । साहिर लाहोर बस्थे, अमृता दिल्ली । यो पहिलो भेटपश्चात् उनीहरूबीच पत्रहरू आदानप्रदान हुन थाल्यो । अमृता सारा दूरी मेटाएर साहिरलाई प्रेम गर्न चाहन्थिन् । साहिरलाई भने टाढैबाट गरिने प्रेम मात्र मान्य थियो । उनी आफ्नो अराजक जीवनमै मस्त थिए । 
प्रेम चुपचाप बस्न सायद रुचाउँदैन । वा सायद अमृताको विद्रोही स्वभावले चुपचाप बस्न रुचाएन । उनले साहिरलाई प्रेम गर्ने गरेको कुरा गोप्य रहेन । एकपल्ट फोटो खिच्न बसेकी अमृतालाई लेख्दै गरेको जस्तो पोज दिन भनियो । उनले पोज दिउन्जेलमा एउटा खाली कागज ‘साहिर’ ‘साहिर’ लेखेर भरेकी थिइन् ।
साहिरलाई आफूले प्रेम गर्ने गरेको कुरा अमृता गर्वका साथ सुनाउने गर्थिन् सबैलाई । यहाँसम्म कि साहिरले पिएर छाडेका चुरोटका ठुटा जम्मा गरेर उनी त्यही पिउँथिन् । आफूले कुनै दिन बच्चा जन्माए त्यो साहिरजस्तै जन्मियोस् भन्ने कामना गर्थिन् । अमृताले साहिरलाई गर्ने प्रेम पागलपनभन्दा कम थिएन । ‘साहिर मलाई भेट्न आउने गर्थे कहिलेकाहीँ । मेरो कोठामा बसेर चुपचाप चुरोट पिउँथे । त्यस बेला मलाई लाग्थ्यो, मेरो हृदयभित्रको मौनता गएर त्यो कुर्सीमा बसेको छ । उनले आधा पिउँदै, निभाउँदै, फेरि अर्को सल्काउँदै गरेर जम्मा भएका ठुटा म जतन गरेर दराजमा राख्थेँ । उनी गइसकेपछि म ती ठुटा सल्काउँथेँ । आफ्ना औंलामा ती ठुटा च्याप्दा मलाई साहिरकै हात समाएझैं लाग्थ्यो । यसरी नै मलाई चुरोट पिउने बानी लागेको हो । चुरोट पिउँदा मलाई सधैं साहिर मेरै निकट छन्झैं लाग्थ्यो । हरेकपल्ट मैले चुरोट पिएर उडाएको धुवाँबाट मानौं अलादिनको चिरागबाट निस्कने जिन्नझैं गरी साहिर निस्कन्थे ।’ आफ्नो आत्मकथा ‘रसिदी टिकट’मा अमृता प्रीतमले लेखेकी छन् । 

साहिर शब्दका जादुगर थिए । अनेक व्यक्तिका सपनालाई उनले शब्द दिए तर आफैं भने कसैको साकार सपना बन्न कहिल्यै सकेनन् । साहिरका लागि प्रेमको मूल्य एउटा कविताभन्दा बढी केही थिएन । उनी भन्थे, ‘मेरा हरेक प्रेमसम्बन्धबाट म कमसेकम एउटा कविता आश गर्छु । त्यसभन्दा बढी मलाई केही चाहिँदैन । मैले प्रेम गर्ने नै गीत, कविता रच्न हो ।’ 
सायद साहिरले पनि अमृतालाई प्रेम गरेका हुँदा हुन्, तर त्यसरी नै जसरी उनी अरू अनेकन महिलालाई गर्थे । अमृता उनको जीवनमा न प्रथम स्त्री थिइन् न त अन्तिम नै । अमृतालाई यो थाहा नभएको हैन । त्यसैले साहिरबाट उनलाई खासै केही अपेक्षा थिएन । जब जब यी दुई भेट्थे, एक शब्द बोल्दैन थिए रे । साहिर चुपचाप चुरोट पिउने, अमृता उनलाई हेरिरहने । केही बेरमा साहिर उठेर गएपछि अमृता ती ठुटा जम्मा गर्ने र तिनलाई दराजमा राख्ने । बस् त्यत्ति ! 
सन् १९५० ताका भने अमृताको हृदय राम्रै टुट्यो । साहिर बलिउडमा यसरी जमेका थिए, त्यस बेलाका सबैभन्दा कमाउ गीतकार उनै थिए । भारतीय सिने जगत्मै उनलाई चाहने अनेक थिए । एक दिन साहिरलाई फोन गर्न लाग्दै गर्दा अमृताका आँखा एउटा सिने पत्रिकामा पर्‍यो जहाँ साहिरको अफेयर चल्दै गरेको खबर छापिएको थियो, गायिका सुधा मलहोत्रासँग । 
अमृताका हात त्यो देख्नासाथ मानौं त्यहीँ जमे । फोन गर्नै सकिनन् उनले । यो एउटा कथा यसरी अधुरै रह्यो । साहिरले अमृतालाई प्रेम नगरेका हैनन्, तर उनी बादलझैं उन्मुक्त र आवारा जीवन बिताउन चाहन्थे । कोही एक व्यक्तिसँग
बाँधिएर बसेमा आफ्नो सिर्जनशक्ति मर्ने कुरामा उनलाई विशेष चिन्ता थियो ।
अमृताले चिया पिइसकेर छाडेको एउटा जुठो कप साहिरले जतन गरेर नधोई राखेका थिए । चियाको त्यही जुठो कप, चुरोटका केही ठुटा, केही कथा, केही कविता र केही यादमै सीमित रहन पुग्यो अन्त्यमा साहिर र अमृताको यात्रा । 
साहिर भन्थे, ‘अन्त्य लेख्न नसकिने कथाहरूलाई एउटा सुन्दर मोड दिएर त्यहीँ छाडिदिनुपर्छ ।’ अमृताको प्रेमकथामा अब नयाँ मोड आयो । अथवा भनौं अब अर्को एउटा कथाको सुरुआत भयो ।
अमृता आफ्नो पुस्तकका लागि कभर डिजाइन गरिदिने चित्रकारको खोजीमा थिइन् । यही क्रममा उनको भेट इमरोजसँग भयो । अमृताले इमरोजलाई पहिलोपल्ट भेट्दा उनी दुई सन्तानकी आमा भइसकेकी थिइन् । इमरोज अमृताभन्दा आठ वर्ष साना थिए । तर जसै इमरोजको आगमन भयो उनको जीवनमा, मरुस्थल बनिसकेको उनको हृदय फेरि गुलजार भयो । फेरि वसन्त आयो । उनले फेरि कविता लेख्न थालिन् । 
इमरोजले अमृतालाई यसरी स्वीकार गरे, जसरी हामीले सुन्ने गरेका ‘साँचो प्रेम’का कथाहरूमा गर्ने गरिन्छ । इमरोजको स्कुटरपछाडि सिटमा सवार भएकी अमृता कहिलेकाहीँ आदतवश इमरोजको ढाडमा आफ्ना औंलाले ‘साहिर’ लेखिदिने गर्थिन् । इमरोज थाहा पाएर पनि चुपचाप बसिदिन्थे । उनलाई अमृता जे जसरी, जस्ती थिइन्; त्यसरी नै स्वीकार्य थिइन् । त्यसैले त अमृता लेख्छिन्, ‘इमरोज देउता हुन् । उनले मेरो अतीतलाई त स्वीकार गरे नै, मेरा सारा पीडालाई समेत आत्मसात् गरे । आफ्नो बनाए ।’ 
साठीको दशकको सुरुआतमा इमरोजले अमृतालाई निरन्तर पत्र लेखे । उनको प्रेम पाउन आफू लालायित रहेको अनुनय गरे । चित्रकार थिए इमरोज । एउटा पत्रमा उनले लेखे, ‘मेरा चित्रहरू तिमीले नहेरेसम्म अपूर्ण नै रहन्छन् जस्तो लाग्छ मलाई अमृता । तिमीले नहेरिदिए मेरा चित्र केही धर्सा र रङको संयोजन मात्र हुन् ।’ कविहृदय प्रेमको यस्तो निमन्त्रण कहिलेसम्म पो बेवास्ता गरेर बस्न सक्थ्यो र ? 
अन्तत : अमृताले आफ्नो पतिसँग छोडपत्र गरिन् । अमृता र इमरोज सँगै बस्न थाले । विवाहको औपचारिकता दुवैलाई आवश्यक थिएन । अमृता इमरोजलाई भन्थिन्, ‘साहिरलाई चौध वर्ष प्रेम गर्न लगाएर मलाई ईश्वर तिम्रा लागि तयार गराउँदै रहेछन् इमरोज ।’ 
सन् १९५८ ताका इमरोज जागिर खान बम्बई जाने भए । गुरु दत्तले आफूसँग काम गर्न आउने निम्ता पठाएका थिए उनलाई । अमृतालाई यो कुरा मनमनै मन परिरहेको थिएन । टाढा गएर कतै साहिरले झैं आफूलाई बिर्सिने पो हुन् कि भन्ने डर हुँदो हो उनको मनमा । तर इमरोजको खुसी देखेर मुखैले भने रोक्न सकेकी थिइनन् । 
जान तीन दिन बाँकी छँदा अमृताले इमरोजलाई भनिन्, ‘म यी तीन दिन आफ्नो जीवनकै अन्तिम दिन हुन् जसरी बिताउन चाहन्छु ।’ तीन दिन उनीहरूले अमृताको इच्छाअनुसारका गतिविधि गरेर बिताए । इमरोज बम्बई जानासाथै अमृतालाई ज्वरो आयो । इमरोज पनि अमृताबाट टाढा रहेर बस्न नसक्ने भए । बम्बई पुगेको अर्को दिन नै उनले फोन गरेर आफू फेरि दिल्ली फर्किन लागेको बताए । इमरोज दिल्ली फर्किने दिन रेल्वे स्टेसनमा अमृता कुरेर बसेकी थिइन् । इमरोज फर्किनासाथ उनको ज्वरो ठीक भएको थियो । 
एकै घरमा बस्दा पनि अमृताको लेखनमा व्यवधान नहोस् भनेर इमरोज अलग्गै कोठामा बस्थे । भन्थे, ‘के भयो र घरभरि उनको वासना छँदै छ । मलाई त्यति नै काफी छ ।’ मध्यरात आफ्नो कोठामा मस्त लेख्दै गरेकी अमृतालाई चिया बनाएर लगिदिन्थे इमरोज । अमृता टाउकै नउठाई लेखिरहन्थिन् । यही क्रम चार दशकसम्म चल्यो ।
चालीस वर्ष उनीहरू सँगै बसे । तबसम्म, जबसम्म अमृताको देहान्त भएन । कष्टप्रद देहान्त । संसार छाड्नुअघि अमृताले इमरोजका लागि भनेर एउटा कविता छाडेर गइन् ।
‘मैं तेन्नु फिर मिलांगी...’
 म तिमीलाई फेरि भेट्नेछु ।
कहाँ र कसरी, त्यो म जान्दिनँ
सायद तिम्रो कल्पना बनेर आउनेछु
सायद तिम्रो क्यानभासमा
कुनै धर्को बनेर कोरिनेछु
र तिमीलाई टुलुटुलु त्यहीँबाट नियाल्नेछु ।
तिम्रा रङहरूले अँगाल्ने घामका किरण पो बन्छु कि ?
थाहा छैन कसरी र कहाँ
तर हामी फेरि भेट्नेछौं ।
शरीर नरहे पनि
टुक्राटुक्रा यादहरू त रहलान् नि कतै
तिनै यादहरूका टुक्रा
बटुल बाटुल पारेर एउटा माला गाँस्छु
र म फेरि आउँछु ।

रोगले च्यापेको बेला अमृता कराउँथिन्, छटपटाउँथिन् । साइनाइड ल्याएर आफूलाई दिन अह्राउँथिन् इमरोजलाई । इमरोज मायाले फकाउँथे, जिस्क्याउँथे । भन्थे, ‘हिजोआज सक्कली साइनाइड कहाँ पाइन्छ र ?’
आफूहरूबीचको उमेरको फरकका बारेमा सोचेर अमृता इमरोजलाई भन्थिन्, ‘तिमी मेरो जीवनमा यति ढिलो किन
आयौ ? समयले मेरो उमेरको राप खोसिसकेपछि किन
आयौ ? मेरो जीवनको ढल्दो साँझमै तिमी आउनुपर्ने ? उज्यालो छँदै तिमी किन भेटिएनौ ?’ 
इमरोज यसको उत्तरमा भन्थे, ‘साँझै सही, तिमी कति सुन्दर साँझ हौ थाहा छ ? आऊ हामी यो साँझ हाम्रो देह, आत्मा, हृदय र हाम्रा समस्त प्रतिभाले सिँचौं । यो सुन्दर साँझ मेरा लागि उत्सवभन्दा कम छैन अमृता । तिमी मेरो जीवनमा साँझ भएर आए के भो ? म त्यो साँझ आफ्नो समस्त सामथ्र्य र जवानीका साथ बाँच्नेछु ।’
अमृतालाई सम्झेर इमरोजले भनेका छन्, ‘उनलाई पहिलोपल्ट देख्नेबित्तिकै मलाई लागेको थियो, मैले आफ्नो बाँकी जीवन साथै बिताउने सहयात्री पाएँ । र ठ्याक्कै त्यस्तै भयो । म जिउँदो रहुन्जेल अमृता मर्दिनन् । उनी मभित्र अझै जीवित छिन् ।’ 
अमृताले इमरोजलाई एकपल्ट भनेकी थिइन्, ‘तिमी अझै जवान नै छौ । जाऊ एकपल्ट संसार घुमेर आऊ । त्यसपछि पनि मै मन परेँ भने अनि सोचौंला ।’
सुन्दा कथाजस्तो लाग्छ तर तत्क्षण इमरोजले अमृताको वरिपरि सात फन्को लगाएर ‘संसार घुमी आएँ म । मलाई अझै पनि तिमी नै चाहियो’ भनेका थिए रे ।
अमृताको देहान्त भएयता इमरोजले पनि कविता लेख्न थाले । अमृताको ‘म तिमीलाई फेरि भेट्नेछु...’ को उत्तरमा इमरोजले लेख्छन्, ‘तिमीले शरीर छाडेकी हौ, साथ हैन ।’ 
साहिर र अमृताको सम्बन्धलाई लिएर तपाईंको मनमा कहिल्यै कुनै ईष्याभाव उत्पन्न भएन ? भनेर इमरोजलाई सोध्दा उनी भन्छन्, ‘साहिरसँग अमृताको कहिल्यै कुनै सम्बन्ध नै थिएन । साहिर अमृताको कल्पना मात्र थिए । म उनको यथार्थ । साहिरको कल्पनाले उनलाई सधैं पीडा मात्र दियो, र मसँगको साथले उनलाई पूर्णता ।’
र, एक दिन जब वर्षौंपछि इमरोजको साथमा आएकी अमृतासँग बम्बईमा कतै जम्काभेट भयो साहिरको,
उनले लेखे  :
‘महफिल से उठ जाने वालों
तुम लोगों पर क्या इलजाम...
तुम आवाद घरों के वासी
मैं आवारा और बदनाम...’ 
(यो लेख  २०७६-०१-७ मा प्रकाशित अन्नपुर्ण पोस्टबाट साभार गरिएको हो)

Friday, April 19, 2019

"जिन्दगी"- [कविता]-अजित काफ्ले 'अविन'

थाहा छैन कहाँ जाने हो के हुने हो भोलि
गन्तव्य हिन भो आज जिन्दगीको खोली
सदा मनमा चिन्ता भोलि के कसो होला
अरु भन्छ्न हासी रमाइ बिताउ दुई दिने यो चोला

बाहिरी रुपमा हेर्दा परोपकारी यो संसार
भित्री मन बुझ्यो भने रैछ स्वार्थको भंसार
पिठ्युँ पछाडी दाह्रेहात सामुन्ने चिल्ला मिठा कुरा
यसैलाइ नै भन्या रैछ मुखमा रामराम बगलिमा छुरा

बहिर जति खुला भए पनि गन्तव्यका ढोकाहरु
मन भित्रै गुम्सिएछ्न बेदनाका पोकाहरु,
अचेल सफा मन र चरित्रको मान्छे पाउन गाह्रो भो
मनमा चोट परेर होकि आज नरम कपास पनि साह्रो भो

अब जीवन जिउन जाने जस्तो लाग्या थ्यो
अब केही गर्छु भन्ने मनैबाट जाग्या थ्यो
तर फुल्नै नपाइ ओइलाइ झरी दियो गन्तव्यको कोपिला
जिन्दगीको दातमा लाग्यो ढुङ्गा अनि मुटुमा गड्यो किल्ला।

आज मनमा मलाइ पिर सह्रै पर्यो
थामिएन आखाबाट आँसु बरबरी झर्यो
बिच बाटोमा जिन्दगिले दिनु ठक्कर दियो
सारथि सम्झिएको समयले आज टक्कर दियो

सोच्या थिन यसरी समस्या जाइ लाउछ भनी
जिन्दगीमा यो अवस्था आइ लाउछ भनि
जो बिना जीवन जिउन कठिन थियो तिनै टाढा भए
बाहिर हेर्दा फिका तर मनभित्र गाढा भए।

अनगिन्ती आकाशका तारा कसरी म गनु
पिरै पिर छ मनमा कस्लाइ कसरि म भनु
बर्खे यो मौसममा बाहिर पानी परिरहदा
सम्हाले मन अनि चलाए कलम आखाबाट आँसु झरिरहदा।

Sunday, April 14, 2019

"गन्तव्य"

लोलाएका आँखा टाँसेका
केही भावहीन अनुहारहरु 
मेरो दृश्यमा यताउती गरिरहेछन् ।
यस्तो लाग्दैछ
हरेकका आँखा प्रश्न चिन्ह हुन् ।
म बुझ्दिन यी गाम्भिर्य
यी रहस्यहरु । 

पोको पारेर समस्या 
हिडिरहेछु गन्तव्य भेट्न 
त्यति सजिलो छैन यात्रा ।
 बालेर रांको हृदयमा दनदनी
हिड्नु सजिलो छैन अँध्यारोमा महोदय ।

भो अब नजर नडुलाउ तिमी मेरो बगैचातिर 
वर्षौ भैसकेको छ यहाँ प्रेमको खडेरी पछि 
कुनै फुल फुलेका छैनन् । 
ती स्वतन्त्र चराका चिरबिर छैनन् । 

अब मेरो पर्खाइमा बस्न छोडिदेउ तिमी 
हो ! मैले वाचा हारिसकेको छु । 
मैले एक्लै तय गर्नुछ भिन्न यात्रा 
म पुग्नुछ सुर्य क्षितिजमा विलाउनु अघि । 
आकाशमा तारा टिलपिलाउनु अघि । 
गौथलीहरु गुडमा फर्कनु अघि ।
जीवनको 'करारपत्र'मा
अन्तिम हस्ताक्षर गर्नु अघि......।

Monday, April 8, 2019

"खेलौना" -[कविता] विनोद देउवा

Image may contain: 1 person, outdoor
म आज बुज्दैछु , सानो छदा मेलामा जाँदा म मेरो बाउको हात छोडेर , एक टकले खेलौना वाला मोटरसाईकल हेरीरहे , हो त्यै बेला बाले मलाई आफ्नो काँधमा चडाए र आफ्ना कानका दुई लोती मलाई समात्न लगाए , मैले भुरभुरभुररररर गरे , मेरा बा दगुर्दै पर गए ! मेरा लागी तब त्यो खेलौना नपाएको गुनासो थियो , तर जब आज म मेरा बाउको खिया लागेको काँध देख्छु , म मेरो जवान काँध हेर्छु र फेरी बा लाई हेर्छु टलुटुलु किनभने , भोली मैले पनी मेरा बालाई काँधमा चडाउनु पर्नेछ , त्यसैले आज म सोध्न चाहान्छु बा के तपाईलाई जिन्दगी देखी केही गुनासो छ ? के तपाँईलाई मेरा अनगिन्ती सपनाहरु प्रती केही गुनासो छ? आज म साँचिकैको मोटर जती पनी चढ्न सक्छु तर मेरो बा को काँध चढ्न सक्दिन ! किन भने , मेरो बाको शरीर चल्न चाहीने पेट्रोल कतै पाँईदैन ! कहिले काँही सोच्दछु यिनै कुराहरु , रोक्न खोजे पनी आँशु आँखा भित्र बस्नै मान्दैन !