Friday, April 10, 2020

कसरी भयो पाँच पाण्डवको मृत्यु?


जानेर वा अन्जानमा जीवनमा हामीअनेकौै गल्तीहरु गरिरहन्छौ । केही गल्ती हामी वेहोसीमा गर्दछौ भने केही गल्ती अहंकारले हामीलाइ अन्धो बनाएपछी गर्न बाध्य तुल्याउँछ । कैयन ऐतेहासिक एंव वीर पौराणिक पात्रहरु समेत यस्तै गल्तीका कारण सजाय भोग्नुपरेका धेरै घटनाहरु पौराणिक कथा कहानीमा पढ्न सुन्न पाइन्छ । यहाँ महाभारतको एक घटना जहाँ आफ्ना कर्मको कारण पाँच पाण्डवले के कसरी प्राण त्याग गर्नुपरेको थियो भन्ने घटनाको सविस्तार वर्णन गरिएको छ ।

युधिष्ठिरले न्यायपूर्ण तरिकाले शासन गरिरहे तर समय बित्दै जाँदा बाँकी भाइहरुले भने आफैले र अरुले भोगेका धेरै कुराहरु बिर्से । श्री कृष्णले भनेका कुराहरु समेत बिर्से । लाखौँ मानिसको मृत्युको भागीदार र आफैले भोगेका द्वन्द्वहरु समेत भुल्दै गए । उनीहरुका लागि राज्य शासनको दैनिक गतिविधि बढी महत्वपूर्ण हुँदै गयो । युधिष्ठिर मात्र एक जना थिए जसले कृष्णका हरेक वाणीहरु याद राखे र दायित्व पूरा गर्ने क्रममा आफैले सकेको जति अर्तीहरु व्यवहारमा उतारे । बाँकी पाण्डव भाइहरुले राज्यभोग गर्दै र राज्याधिकारी बन्नैमा व्यस्त रहे ।


एक दिन युधिष्ठिरले आफ्ना भाइहरुसित जीवनबारे बुझ्नका लागि मण्डरा हिमाल चढ्ने प्रस्ताव राखे । उनीहरु आफै श्री कृष्णसँग बस्दथे तर पनि उनीहरुलाई जीवनबारे बुझ्नपर्ने भयो । मानिसहरुको समस्या के हो भने उनीहरुले आफुसँगै भएका महत्वपूर्ण कुराहरु देख्न सक्दैनन् । भगवानसँगै बस्दथे र पनि उनीहरुलाई जीवन बुझ्न निस्किनपर्ने भयो । बाँकी भाइहरुले पनि दाइको कुरा स्वीकार गर्दै भ्रमणमा निस्किने भएछन् । उनीहरु हिमाल चढ्न निस्के, चिप्लो बाटो हुँदै उनीहरु हप्तौँ लगाएर हिमाल चढ्न थाले । बाटो अझै गाह्रो र चिप्लो हुदैँ जान थाल्यो ।
यही क्रममा एक दिन द्रौपदी हिमालबाट चिप्लेर लडिन् र खसिन् । उनले कुनै आवाज पनि ननिकाली हिमालबाट लडेर ज्यान गुमाइन् । यता, युधिष्ठिर भने एक पटक पनि पछाडि फर्केनन् र अघि बढिरहे । बाँकी भाइहरु बल्लतल्ल उनीसम्म पुगेपछि भीमले उनलाई सोधे, “किन द्रौपदी यहाँबाट लडेर हामीसँग छुट्टिनपर्यो ? उनले जीन्दगीभर दुःख नै त खेपिन् र सदैव हाम्रै साथमा रहिरहिन् । उसले के बिराइन् र किन उनले ज्यान गुमाउनपर्यो ?” युधिष्ठिरले उनलाई भने, “यसमा धेरै कुरा छ । द्रौपदीले उनका पाँचै श्रीमान रुलाई बराबर माया दिने वाचा गरेकी थिइन् तर उनले कहिल्यै त्यसो गर्न सकिनन् । उनले सधैँ अर्जुनलाई मात्र माया गरिन् र उनको मात्र पत्नी बन्ने लालसा राखिन् । हामी बाँकी भाइसँग उनले आफ्नो जिम्मेवारी मात्र पूरा गरिन् तर उनको माया सधैँ अर्जुनको लागि मात्र रह्यो । कर्ण कुन्तीका पुत्र हुन् भन्ने थाहा पाएपछि कर्णलाई पनि पतिको रुपमा प्राप्त गर्ने इच्छा राखिन् । यही दुई वटा कारणले उनी खसिन् ।”
यसरी उनीहरुले फेरी आफ्नो यात्रा सुरु गरे । त्यसपछि नकुल खसे । यसपछि उनीहरुले युधिष्ठिरलाई फेरी प्रश्न गरे । अब नहकुल किन खसे ? उनले भने, “उनी असाध्यै घमण्डी मानिस थिए । उनी आफुलाई असाध्यै सुन्दर मान्थे र उनको घमण्डले नै उनको पतन गरायो ।” उनीहरु हिँड्दै गए, यसपालि सहदेव खसे । उनीहरुले आफ्ना दाइसँगै प्रश्न राखे, सहदेव किन खसे ? उनले कहिल्यै एक शब्द पनि बोलेनन्, भद्र थिए र पनि किन खसे ? उनी एक शब्द पनि बोलेनन् तर यो उनको भद्रताले नभई उनको आत्मसन्तुष्टि र दम्भका कारणले हो भन्ने जवाफ उनीहरुले पाए । यसपश्चात् भीम खसे । भीमजस्ता मायालु र निर्दोष मानिस किन खसे भनी अर्जुनले सोध्दा युधिष्ठिर भन्छन्, “उनीमा खन्चुवापन र लालचा थियो । उनी मान्छेलेजस्तै नभई पशुले जसरी खान्थे र उनी सधैँ अरुको दुःखमा रमाइलो मान्थे । हामी कहिलेकाहीँ अरुको दुःखको कारण बन्न सक्छौँ बरु तर अरुको दुःखमा रमाउन कदापि हुन्न । भीमलाई अरुको दुःखमा निकै आनन्द आउँथ्यो र यही उनको पतनको कारण बन्न पुग्यो ।” अन्त्यमा अर्जुन पनि खसे । उनको पालोमा प्रश्न सोध्ने कोही भएनन् । युधिष्ठिर एक्लै बोल्दै अघि बढे । उनको धनुविद्याको घमण्डले उनी सखाप भए । उनी आफुलाई संसारकै उत्कृष्ट धर्नुधर मान्थे । उनी राम्रा धर्नुधर त थिए तर संसारकै उत्कृष्ट होइन । उनलाई अरुको औँला काटेर उत्कृष्ट बन्ने हक थिएन । उनी सधैँ उनीभन्दा राम्रा धर्नुधर अरु होलामा बढी चिन्तित र असुरक्षित मान्थे ।


यसरी युधिष्ठिर मात्र यात्राको अन्तिमसम्म पुग्दछन् । कथाअनुसार यदि असल भई यात्राको अन्त्यसम्म पुग्न सकेमा मानिस पार्थिव शरीरसहित देवलोकमा पुग्न सक्नेछन् । युधिष्ठिर एक जना मात्र शरीरसहित देवलोकमा पुग्ने भए । देवलोकबाट उनलाई लिन दूतहरु आइपुग्छन् । तर, युधिष्ठिरको साथमा कुकुर पनि देखेपछि दूतले कुकुरलाई लान नसक्ने बताउँछन् । युधिष्ठिरलाई आफुसँगै कुकुर पनि आएको हेक्कै हुँदैन । पछाडि फर्केर हेर्दा उनले आफुसँग कुकुर पनि सँगै आएको देख्दछ । उनलाई त्यो कुकुरले हस्तिनापुरमा हुँदै उनीहरुलाई पछ्याइरहेको याद आउँछ । यात्रामा द्रौपदी र उनका भाइहरु लड्दा समेत पछाडि नफर्की निरन्तर अघि बढेका युधिष्ठिरलाई कुकुर पछिपछि आइरहेको त पत्तै हुन्न । न्यायका सच्चा पालक युधिष्ठिरले कुकुरलाई आफुसँगै लानुपर्ने जिकिर गर्छन् । यत्तिका यात्रामा उनका पत्नी र चार भाइ खस्दा पनि त्यो कुकुरले यहाँसम्मको यात्रा तय गरेका कारणले, ऊ पनि देवलोक जान योग्य रहेको युधिष्ठिरले दूतहरुलाई बताउँछन् । दूतहरुले कुकुरलाई स्वर्गमा लान नमिल्ने बताएपछि युधिष्ठिरले आफु पनि स्वर्ग नजाने बरु त्यही पहाडमा बस्ने जिद्दी गर्दछन् । उनले कुकुरलाई दयामाया देखाएर स्वर्गमा बास पाउनुपर्छ भनेका थिएनन्, यात्रा तय गरेकोमा उनी पनि देवलोकको हकदार भएको र नलगे कुकुरलाई अन्याय हुने उनको ठम्याइ थियो । दूतहरुले युधिष्ठिरको कुरा मानी कुकुरलाई पनि देवलोकमा साथै लैजान्छन् ।


स्वर्ग पुग्नासाथ उनले सबैभन्दा पहिले उनका भाइहरुको र पत्नीको खोजी गर्दछन् । दूतहरुले उनलाई इन्द्रको बैठकसम्म पुग्न आग्रह गर्दछन् । इन्द्रको बैठकमा पुग्नासाथ उनले दुर्योधनलाई उनकै रिस तथा घमण्डको मुद्रामा बसेको देख्दछन् । स्वर्गलोकमा देवहरुसँग दुर्योधनलाई देख्दा युधिष्ठिर हच्किन्छन् । त्यसपछि उनले दुष्यान्त र शकुनीलाई पनि त्यसैगरी बसेको देख्दछ तर उनले त्यहाँ आफ्ना चार भाइहरुलाई, कर्णलाई र पञ्चालीलाई त्यहाँ देख्दैनन् । यो देखेर उनले यो अन्याय भयो भन्दै उनले युद्धका र लाखौँ मृत्युका कारक तथा हामीलाई जिन्दगीभर दुःख मात्र दिने दुर्योधनले स्वर्गबास कसरी पाए भनेर प्रश्न गर्दछन् र आफ्ना भाइहरु र पत्नीको खोजी गर्दछन् । उनका भाइ र पत्नी अर्कै ठाउँमा भएको जवाफ उनले प्राप्त गर्दछन् । युधिष्ठिरले तुरुन्तै इन्द्रको सो सभामा आफूलाई कुनै रुचि नभएको र आफ्ना भाइहरु भएका ठाउँमा लगिदिन अनुरोध गर्दछन् । दूतहरुले देवलोकमा इन्द्रसँगै नबस्ने भनेर सोधेको प्रश्नमा उनले फेरी त्यही कुरा दोहोर्याउँछन् ।
यसपश्चात् उनलाई त्यहाँबाट लगिन्छ । अघिसम्म सुन्दर स्थानमा रहेका युधिष्ठिरलाई बिस्तारै अँध्यारो स्थानतर्फ लगिन्छ । उनले कुरुक्षेत्रको युद्ध मैदानमा भन्दा चर्का किसिमका अनेक दुःख, कष्ट र पीडाको आवाजहरु सुन्न थाल्दछन् । उनी आत्तिन थाल्छन् र त्यहाँ आपूmलाई किन ल्याइएको प्रश्न गर्दछन् । उनले अचानक पञ्चालीको दर्दनाक आवाज सुन्छन् । उनको चित्कार सुनेर उनलाई किन दुःख दिइरहेको भन्ने प्रश्न सोध्न नभ्याउँदै उनले अरु भाइका आवाजहरु पनि सुन्दछन् । उनले दूतहरुलाई प्रश्न गर्दछन् किन मेरा भाइहरु र पत्नी नर्कमा छन् र दुर्योधनहरु चाहिँ स्वर्गमा ? दूतहरुले यो हामीले गराएको नभई उनीहरुकै धर्म र कर्मले गराएको बरु युधिष्ठिरलाई त्यहाँबाट फर्किन सल्लाह दिन्छन् । युधिष्ठिरले भाइहरु र पत्नीलाई यस्तो ठाउँमा छाडेर जान नसक्ने बताउँछन् । केही बेर सोचेपछि युधिष्ठिरले आफुपनि नर्कमा नै बस्ने र देवलोकमा नजाने बताउँछन् । यसपछि इन्द्र आफै प्रकट हुँदै भन्छन्, तिम्रो न्यायप्रतिको झुकावको हामी कदर गर्छौँ तर यति सारा भइसक्दा पनि तिमीले दुर्योधन र उनका भाइहरुलाई घृणा गर्न छाडेनौ । तिम्रो यो निर्णय यसै घृणाबाट आएको हो । यात्रामा भाइहरु र पत्नी लडेर खस्दा तिमीले एक पटक पनि फर्केर हेरेनौ तर अहिले दुर्योधन, दुष्यान्त र शकुनीलाई देवलोकमा देख्दा तिमी मर्माहित भयौ । तिमीले उनीहरुका लागि यो घृणा जबसम्म त्याग्न सक्दैनौ तबसम्म तिमी र तिम्रा भाइहरु यहाँबाट निस्किन सक्नेछैनौ ।


उनी त्यहीँ बसेर ध्यानमा लिन हुन थाल्छन् र आफुभित्र घृणाको बिउ रोपिएको भेट्छन् । उनले घृणालाई माफी नगरेर आफै भित्र कुण्ठित बनाएर राखेको भेट्छन् । घृणाको एउटा बिउले पूरा जंगल फैलाउन सक्छ । सिर्जनाको अस्तित्व पनि एक बीजबाट नै हुने हो । उनमा रहेको त्यो घृणाले अर्को कुरुक्षेत्र निम्त्याउन सक्ने अनुभूति उसलाई हुन्छ । यसकारण, युधिष्ठिर आफु भित्रको घृणालाई माफी दिन ध्यानमा बस्छन् ।






स्रोत: हाम्रो पात्रो

सुयोग ढकालको अनुवाद

No comments:

Post a Comment