Thursday, May 2, 2019

सपनाको बिलाप ! (कविता) - सुमिना 'अभिलाषी'

खै कसरी पो ,
फूल्न र फल्न सकिन्छ र ?
यो बिकृत जमिनको पिंदबाट
उम्रनु पनि अभिषाप रहेछ !

म त झन् अभावको पराकाष्ठामा ,
थुनिएको कैदी मानचित्रबाट ,
रचिएको एक अबैध सपना !

जसले जन्मिन मात्र पनि
कैयौं अवरोधहरूको सामना गर्नु पर्यो !
अझ यहाँ त तैनाथ छन्
जिन्दगीको राजधानिमा चोकै पिच्छे
कैयौं ठमेलहरू !
अभावलाई हतियार चलाइ
आकर्षक गर्छ्न
प्रलोभनको ललिपप देखाइ
 फसाउन आतूर बन्दै
स्निग्ध सुकुमारी हरूलाई !
र चढाउछ्न् निर्ममता पुर्वक !
यौवनका प्यासाहरूलाइ !
महंगो डिल गरेर ,
सुम्पिन्छ्न् कुमारी रातहरूलाई !

खै कसरी फूल्न र फल्न सकिन्छ र ?
 यो बिकृत जमिनको पिंदबाट त ,
उम्रनु पनि अभिषाप रहेछ !

 हो ! यहाँ त तैनाथ रहेछ्न् !
 चोक - चोकमा दलालिहरू !
बाध्यताको फाइदा उठाइ ,
कर्जा दिन्छ्न् जवानी धितो राखेर !
 र अनुपयुक्त समयमा ,
खुलेयाम अस्तित्वको धज्जि उडाइ
जिन्दगी नै लिलाम गरिदिन्छ्न् !

पेण्डिङमा बस्छ्न् सालौं साल सम्म
योग्यता र सर्टिफिकेटका दस्तावेजहरू !
लामो लाइनमा टाँगिन्छ्न सरिफहरू !
भुनभुनाउन थाल्छ गेट बाटै कार्यलयहरूमा !
नातबाद - कृपाबाद र घुसपैठका दुर्गन्धित फ्लेवरहरू !
घुम्ने कुर्चिबाटै कामुक आँखा लगाउछ्न्
हाकिमहरू !

खै कसरी पो, फूल्न र फल्न सकिन्छ र ?
 यो बिकृत जमिनको पिंदबाट
उम्रनु पनि अभिषाप रहेछ !

 म त झन् ,
अभावको पराकाष्ठाले थुनिएको कैदी
मानचित्रमा रचिएको अबैध सपना !
 जसले जन्मिन मात्र पनि ,
 कैयौं अवरोधहरूको सामना गर्यो !
थकित अन्दाजमा ला.....मो सुस्केरा फाल्छ्न् !
, हरेक राती अवचेतनामै लामो बिलाप गर्छ्न
म संग
यसै गरि मेरा आजित सपनाहरू !!



















सुमिना 'अभिलाषी'-बुटवल (रुपन्देही)

No comments:

Post a Comment