Wednesday, February 2, 2022

~नियती~

ढकमक्क फुल्ने 
कोपिलाहरुको 
रहर देखेर, 
केही वृद्ध फुलहरुले
 मन्द पवनको
 एक झोंक्कामै 
आफ्नो प्राणको 
आहुती दिए! 

तिनै हाँगाबाट
 झरेका फुलहरुले 
आज सम्झाइरहेछन् 
मेरो अस्तित्व, 
मेरो अतीत! 

जस्तो कि
तिम्रो खुशीको खातिर, 
मैले कसरी 
आफ्ना खुशीहरुको 
निर्मम हत्या गरेथें भनेर…!
















(दिनांक: २०७८ माघ १८, वुधबार)

Monday, January 31, 2022

[कविता]- सहिद


  'सहिद'

म पनि त उहिल्यै

'सहिद' भैसकेको छु 
तिम्रो हृदयको
 समाधीस्थलमा ।

 जाउ प्रीय, 
कुनै पत्थरमाथी 
ओइलाएका फुलहरुले 
माल्यार्पण गरिदेउ
 मेरो स्मारक सम्झेर !


दिनांक: २०७८ माघ १६ (सहिद दिवस)








Saturday, June 5, 2021

[कविता] - "गोधुली साँझ, झरी र यादहरु"

  

   अतितको

कुनै एक

धमिलो गोधुली साँझ

टेकेर पहाडको हरियो छातीमा

गरेथ्यौ घन्टौसम्म हामिले

प्रेमील वार्तालाप


त्यो साँझ

तिमीले प्रशंसा गरेथ्यौ

पहाडको,

आकाशको,

बादलको

र जूनको । 


काला-सेता बादलका

टुक्रालाइ आपसमा

हामीले बाँड्यौ

 र बनायौँ 

एक जोडी वायुपंखी घोडा

अनि उड्न थाल्यौ 

कल्पनाको विशाल गगनमा।


निमेषभरमै

त्यही बादल 

दर्किएपछी झरी बनेर

झस्किएथ्यौ हामी।

त्यसछी

तिमीले गित सुसेल्यौ

झरीको लयमा

म डुब्दै गए

तिम्रो प्रेममा ।


वर्षौपछी

आज म ठिक त्यहीँ उभिएको छु

तिमी र मैले टेकेको

एक टुक्रा जमीनमाथी

किनकी मलाइ

पुरानो एउटा 

घाउ बल्झाउनुछ।

आफुलाई  कहिकतै

अल्झाउनुछ

र रुझ्नुछ

आँसुको झरीमा.....




Sunday, April 18, 2021

कविता- "ऐठन"




हरेक विहान

म झस्किरहन्छु

एउटै भयानक सपनाले;

किनकि म देख्छु

कुरुक्षेत्रमा

शसस्त्र बन्दुकधारी 'बुद्धहरु'

र कतै देख्छु

पिपलको बोटमुनि

शान्त र ध्यानस्त 'हिटलरहरु' !



Friday, April 10, 2020

कसरी भयो पाँच पाण्डवको मृत्यु?


जानेर वा अन्जानमा जीवनमा हामीअनेकौै गल्तीहरु गरिरहन्छौ । केही गल्ती हामी वेहोसीमा गर्दछौ भने केही गल्ती अहंकारले हामीलाइ अन्धो बनाएपछी गर्न बाध्य तुल्याउँछ । कैयन ऐतेहासिक एंव वीर पौराणिक पात्रहरु समेत यस्तै गल्तीका कारण सजाय भोग्नुपरेका धेरै घटनाहरु पौराणिक कथा कहानीमा पढ्न सुन्न पाइन्छ । यहाँ महाभारतको एक घटना जहाँ आफ्ना कर्मको कारण पाँच पाण्डवले के कसरी प्राण त्याग गर्नुपरेको थियो भन्ने घटनाको सविस्तार वर्णन गरिएको छ ।

युधिष्ठिरले न्यायपूर्ण तरिकाले शासन गरिरहे तर समय बित्दै जाँदा बाँकी भाइहरुले भने आफैले र अरुले भोगेका धेरै कुराहरु बिर्से । श्री कृष्णले भनेका कुराहरु समेत बिर्से । लाखौँ मानिसको मृत्युको भागीदार र आफैले भोगेका द्वन्द्वहरु समेत भुल्दै गए । उनीहरुका लागि राज्य शासनको दैनिक गतिविधि बढी महत्वपूर्ण हुँदै गयो । युधिष्ठिर मात्र एक जना थिए जसले कृष्णका हरेक वाणीहरु याद राखे र दायित्व पूरा गर्ने क्रममा आफैले सकेको जति अर्तीहरु व्यवहारमा उतारे । बाँकी पाण्डव भाइहरुले राज्यभोग गर्दै र राज्याधिकारी बन्नैमा व्यस्त रहे ।


एक दिन युधिष्ठिरले आफ्ना भाइहरुसित जीवनबारे बुझ्नका लागि मण्डरा हिमाल चढ्ने प्रस्ताव राखे । उनीहरु आफै श्री कृष्णसँग बस्दथे तर पनि उनीहरुलाई जीवनबारे बुझ्नपर्ने भयो । मानिसहरुको समस्या के हो भने उनीहरुले आफुसँगै भएका महत्वपूर्ण कुराहरु देख्न सक्दैनन् । भगवानसँगै बस्दथे र पनि उनीहरुलाई जीवन बुझ्न निस्किनपर्ने भयो । बाँकी भाइहरुले पनि दाइको कुरा स्वीकार गर्दै भ्रमणमा निस्किने भएछन् । उनीहरु हिमाल चढ्न निस्के, चिप्लो बाटो हुँदै उनीहरु हप्तौँ लगाएर हिमाल चढ्न थाले । बाटो अझै गाह्रो र चिप्लो हुदैँ जान थाल्यो ।
यही क्रममा एक दिन द्रौपदी हिमालबाट चिप्लेर लडिन् र खसिन् । उनले कुनै आवाज पनि ननिकाली हिमालबाट लडेर ज्यान गुमाइन् । यता, युधिष्ठिर भने एक पटक पनि पछाडि फर्केनन् र अघि बढिरहे । बाँकी भाइहरु बल्लतल्ल उनीसम्म पुगेपछि भीमले उनलाई सोधे, “किन द्रौपदी यहाँबाट लडेर हामीसँग छुट्टिनपर्यो ? उनले जीन्दगीभर दुःख नै त खेपिन् र सदैव हाम्रै साथमा रहिरहिन् । उसले के बिराइन् र किन उनले ज्यान गुमाउनपर्यो ?” युधिष्ठिरले उनलाई भने, “यसमा धेरै कुरा छ । द्रौपदीले उनका पाँचै श्रीमान रुलाई बराबर माया दिने वाचा गरेकी थिइन् तर उनले कहिल्यै त्यसो गर्न सकिनन् । उनले सधैँ अर्जुनलाई मात्र माया गरिन् र उनको मात्र पत्नी बन्ने लालसा राखिन् । हामी बाँकी भाइसँग उनले आफ्नो जिम्मेवारी मात्र पूरा गरिन् तर उनको माया सधैँ अर्जुनको लागि मात्र रह्यो । कर्ण कुन्तीका पुत्र हुन् भन्ने थाहा पाएपछि कर्णलाई पनि पतिको रुपमा प्राप्त गर्ने इच्छा राखिन् । यही दुई वटा कारणले उनी खसिन् ।”
यसरी उनीहरुले फेरी आफ्नो यात्रा सुरु गरे । त्यसपछि नकुल खसे । यसपछि उनीहरुले युधिष्ठिरलाई फेरी प्रश्न गरे । अब नहकुल किन खसे ? उनले भने, “उनी असाध्यै घमण्डी मानिस थिए । उनी आफुलाई असाध्यै सुन्दर मान्थे र उनको घमण्डले नै उनको पतन गरायो ।” उनीहरु हिँड्दै गए, यसपालि सहदेव खसे । उनीहरुले आफ्ना दाइसँगै प्रश्न राखे, सहदेव किन खसे ? उनले कहिल्यै एक शब्द पनि बोलेनन्, भद्र थिए र पनि किन खसे ? उनी एक शब्द पनि बोलेनन् तर यो उनको भद्रताले नभई उनको आत्मसन्तुष्टि र दम्भका कारणले हो भन्ने जवाफ उनीहरुले पाए । यसपश्चात् भीम खसे । भीमजस्ता मायालु र निर्दोष मानिस किन खसे भनी अर्जुनले सोध्दा युधिष्ठिर भन्छन्, “उनीमा खन्चुवापन र लालचा थियो । उनी मान्छेलेजस्तै नभई पशुले जसरी खान्थे र उनी सधैँ अरुको दुःखमा रमाइलो मान्थे । हामी कहिलेकाहीँ अरुको दुःखको कारण बन्न सक्छौँ बरु तर अरुको दुःखमा रमाउन कदापि हुन्न । भीमलाई अरुको दुःखमा निकै आनन्द आउँथ्यो र यही उनको पतनको कारण बन्न पुग्यो ।” अन्त्यमा अर्जुन पनि खसे । उनको पालोमा प्रश्न सोध्ने कोही भएनन् । युधिष्ठिर एक्लै बोल्दै अघि बढे । उनको धनुविद्याको घमण्डले उनी सखाप भए । उनी आफुलाई संसारकै उत्कृष्ट धर्नुधर मान्थे । उनी राम्रा धर्नुधर त थिए तर संसारकै उत्कृष्ट होइन । उनलाई अरुको औँला काटेर उत्कृष्ट बन्ने हक थिएन । उनी सधैँ उनीभन्दा राम्रा धर्नुधर अरु होलामा बढी चिन्तित र असुरक्षित मान्थे ।


यसरी युधिष्ठिर मात्र यात्राको अन्तिमसम्म पुग्दछन् । कथाअनुसार यदि असल भई यात्राको अन्त्यसम्म पुग्न सकेमा मानिस पार्थिव शरीरसहित देवलोकमा पुग्न सक्नेछन् । युधिष्ठिर एक जना मात्र शरीरसहित देवलोकमा पुग्ने भए । देवलोकबाट उनलाई लिन दूतहरु आइपुग्छन् । तर, युधिष्ठिरको साथमा कुकुर पनि देखेपछि दूतले कुकुरलाई लान नसक्ने बताउँछन् । युधिष्ठिरलाई आफुसँगै कुकुर पनि आएको हेक्कै हुँदैन । पछाडि फर्केर हेर्दा उनले आफुसँग कुकुर पनि सँगै आएको देख्दछ । उनलाई त्यो कुकुरले हस्तिनापुरमा हुँदै उनीहरुलाई पछ्याइरहेको याद आउँछ । यात्रामा द्रौपदी र उनका भाइहरु लड्दा समेत पछाडि नफर्की निरन्तर अघि बढेका युधिष्ठिरलाई कुकुर पछिपछि आइरहेको त पत्तै हुन्न । न्यायका सच्चा पालक युधिष्ठिरले कुकुरलाई आफुसँगै लानुपर्ने जिकिर गर्छन् । यत्तिका यात्रामा उनका पत्नी र चार भाइ खस्दा पनि त्यो कुकुरले यहाँसम्मको यात्रा तय गरेका कारणले, ऊ पनि देवलोक जान योग्य रहेको युधिष्ठिरले दूतहरुलाई बताउँछन् । दूतहरुले कुकुरलाई स्वर्गमा लान नमिल्ने बताएपछि युधिष्ठिरले आफु पनि स्वर्ग नजाने बरु त्यही पहाडमा बस्ने जिद्दी गर्दछन् । उनले कुकुरलाई दयामाया देखाएर स्वर्गमा बास पाउनुपर्छ भनेका थिएनन्, यात्रा तय गरेकोमा उनी पनि देवलोकको हकदार भएको र नलगे कुकुरलाई अन्याय हुने उनको ठम्याइ थियो । दूतहरुले युधिष्ठिरको कुरा मानी कुकुरलाई पनि देवलोकमा साथै लैजान्छन् ।


स्वर्ग पुग्नासाथ उनले सबैभन्दा पहिले उनका भाइहरुको र पत्नीको खोजी गर्दछन् । दूतहरुले उनलाई इन्द्रको बैठकसम्म पुग्न आग्रह गर्दछन् । इन्द्रको बैठकमा पुग्नासाथ उनले दुर्योधनलाई उनकै रिस तथा घमण्डको मुद्रामा बसेको देख्दछन् । स्वर्गलोकमा देवहरुसँग दुर्योधनलाई देख्दा युधिष्ठिर हच्किन्छन् । त्यसपछि उनले दुष्यान्त र शकुनीलाई पनि त्यसैगरी बसेको देख्दछ तर उनले त्यहाँ आफ्ना चार भाइहरुलाई, कर्णलाई र पञ्चालीलाई त्यहाँ देख्दैनन् । यो देखेर उनले यो अन्याय भयो भन्दै उनले युद्धका र लाखौँ मृत्युका कारक तथा हामीलाई जिन्दगीभर दुःख मात्र दिने दुर्योधनले स्वर्गबास कसरी पाए भनेर प्रश्न गर्दछन् र आफ्ना भाइहरु र पत्नीको खोजी गर्दछन् । उनका भाइ र पत्नी अर्कै ठाउँमा भएको जवाफ उनले प्राप्त गर्दछन् । युधिष्ठिरले तुरुन्तै इन्द्रको सो सभामा आफूलाई कुनै रुचि नभएको र आफ्ना भाइहरु भएका ठाउँमा लगिदिन अनुरोध गर्दछन् । दूतहरुले देवलोकमा इन्द्रसँगै नबस्ने भनेर सोधेको प्रश्नमा उनले फेरी त्यही कुरा दोहोर्याउँछन् ।
यसपश्चात् उनलाई त्यहाँबाट लगिन्छ । अघिसम्म सुन्दर स्थानमा रहेका युधिष्ठिरलाई बिस्तारै अँध्यारो स्थानतर्फ लगिन्छ । उनले कुरुक्षेत्रको युद्ध मैदानमा भन्दा चर्का किसिमका अनेक दुःख, कष्ट र पीडाको आवाजहरु सुन्न थाल्दछन् । उनी आत्तिन थाल्छन् र त्यहाँ आपूmलाई किन ल्याइएको प्रश्न गर्दछन् । उनले अचानक पञ्चालीको दर्दनाक आवाज सुन्छन् । उनको चित्कार सुनेर उनलाई किन दुःख दिइरहेको भन्ने प्रश्न सोध्न नभ्याउँदै उनले अरु भाइका आवाजहरु पनि सुन्दछन् । उनले दूतहरुलाई प्रश्न गर्दछन् किन मेरा भाइहरु र पत्नी नर्कमा छन् र दुर्योधनहरु चाहिँ स्वर्गमा ? दूतहरुले यो हामीले गराएको नभई उनीहरुकै धर्म र कर्मले गराएको बरु युधिष्ठिरलाई त्यहाँबाट फर्किन सल्लाह दिन्छन् । युधिष्ठिरले भाइहरु र पत्नीलाई यस्तो ठाउँमा छाडेर जान नसक्ने बताउँछन् । केही बेर सोचेपछि युधिष्ठिरले आफुपनि नर्कमा नै बस्ने र देवलोकमा नजाने बताउँछन् । यसपछि इन्द्र आफै प्रकट हुँदै भन्छन्, तिम्रो न्यायप्रतिको झुकावको हामी कदर गर्छौँ तर यति सारा भइसक्दा पनि तिमीले दुर्योधन र उनका भाइहरुलाई घृणा गर्न छाडेनौ । तिम्रो यो निर्णय यसै घृणाबाट आएको हो । यात्रामा भाइहरु र पत्नी लडेर खस्दा तिमीले एक पटक पनि फर्केर हेरेनौ तर अहिले दुर्योधन, दुष्यान्त र शकुनीलाई देवलोकमा देख्दा तिमी मर्माहित भयौ । तिमीले उनीहरुका लागि यो घृणा जबसम्म त्याग्न सक्दैनौ तबसम्म तिमी र तिम्रा भाइहरु यहाँबाट निस्किन सक्नेछैनौ ।


उनी त्यहीँ बसेर ध्यानमा लिन हुन थाल्छन् र आफुभित्र घृणाको बिउ रोपिएको भेट्छन् । उनले घृणालाई माफी नगरेर आफै भित्र कुण्ठित बनाएर राखेको भेट्छन् । घृणाको एउटा बिउले पूरा जंगल फैलाउन सक्छ । सिर्जनाको अस्तित्व पनि एक बीजबाट नै हुने हो । उनमा रहेको त्यो घृणाले अर्को कुरुक्षेत्र निम्त्याउन सक्ने अनुभूति उसलाई हुन्छ । यसकारण, युधिष्ठिर आफु भित्रको घृणालाई माफी दिन ध्यानमा बस्छन् ।






स्रोत: हाम्रो पात्रो

सुयोग ढकालको अनुवाद

Tuesday, April 7, 2020

अलीको चतुर्याइ



प्रधानमन्त्रीका सूचना प्रविधी विज्ञ(IT) अग्सर अलीले आफ्नो पदीय हैसियत र दक्षताको दुरुपयोग गरी एउटा अनलाइन न्युज पोर्टल साइट काडमान्डु प्रेस डटकममा आफु विरुद्व छापिएको समाचार पोर्टल ह्याक गरि उक्त समाचार हटाएको कर्तुत विभिन्न संचार माध्यमहरुबाट सार्वजनिक भएपछि उनि विवादमा तानिएका छन्। यो कर्तुत सार्वजनिक भएसंगै उनले लाजै नमानी माफि समेत मागिसकेका छन । निज अलि एफवन सफ्ट इन्टरनेशनलका संचालक समेत हुन। २१ लाख भन्दा बढी प्रयोगकर्ता रहेको अनलाईन विद्युतीय भुक्तानि सेवा प्रदायक कम्पनी ई-सेवा यही कम्पनीबाट संचालित छ। लाखौं नेपाली नागरिकका सुचना र अर्बौ रकम राखेको ई-सेवाका प्रयोगकर्ता यतिबेला चिन्तित छन्।
-सेवा विगत केहि वर्षदेखि अनलाईन विद्युतीय भुक्तानि सेवा दिदै आएको छ। आफु सरकारी सेवामा रहेर पनि अलीले भने आफ्नो निजी कम्पनीको प्रवर्धनमा कम्मर कसेर लागिरहे। कतिसम्म भने सरकारी कारोबार र रकम भुक्तानीका प्रयोजनका निम्ती राष्ट्रिय सूचना प्रविधी केन्द्रले २५ लाख खर्च गरेर ल्याएको नेशनल पेमेन्ट गेटवे संचालनमा आउनै नदिइ उल्टै विभिन्न सरकारी निकायहरु ई-सेवामा घुसाउन भ्याए। केन्द्रले नेशनल पेमेन्ट गेटवे दुई वर्षसम्म पनि सञ्चालनमा ल्याउन नसक्नुको पछाडि अलीको हात  रहेको सञ्चार मन्त्रालयका उच्च अधिकारीहरुको दाबी छ। सरकारी निकायमा हुने कारोबारसँग जोडेर आफ्नै निजी व्यवसाय प्रवर्धन गरिरहँदा नेसनल पेमेन्ट गेटवे सञ्चालनमा नआउनुले राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु र अलीको मिलेमतो रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन्। केन्द्रले खरिद गरेको नेशनल पेमेन्ट गेटवे प्रणाली प्रयोगमा नल्याएको विषयमा तिब्र आलोचना हुन थालेपछि बल्ल राष्ट्र बैंकको नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालन ल्याउने तयारी गरेको हो। तर हालसम्म यो प्रणाली प्रयोगमा नल्याइ निजी कम्पनीलाई गैर कानुनी लाभ पुर्याउने केन्द्रका अधिकारीहरुमाथि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन

अलीले श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस, वैदेशिक रोजगार विभाग, लोकसेवा आयोगको पदपुर्ती विभागको आवेदन दस्तुर भुक्तानी र राहदानी विभागसहितका करिब दर्जन सरकारी निकायमा ईसेवामा घुसाएका छन्। त्यतिमात्र कहाँ हो र राष्ट्रिय खेलकुद परिषदलाई समेत प्रभावमा पारेर नेपालमा हालै सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग) को टिकटसम्म ई-सेवाबाट बेचे। यसरी आम नागरिकको महत्वपुर्ण वैयक्तिक जानकारी र रकमको संचालक तथा संरक्षकको रुपमा रहि अभिभावकको भुमिका निर्वाह गरिरहेको ई सेवा र मात्र संचालनमा होइन अलिको सो कम्पनीले नेपालका धेरै बैंक तथा वित्तिय संस्थाको वेव साइट तथा मोबाइल वैंकिङ एप समेत बनाएको र विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबारमा सहजीकरण गर्ने भेन्डर कम्पनी पनि हो।

राष्ट्र यतिबेला COVID-19 को महामारीको संकटबाट गुज्रिरहेको बेला अलीको यो कर्तुतलाई सरकारले त्यति महत्व दिएको पाइदैन। तर सर्वसाधारणले भने सामाजिक संजालमा सरकार विरुद्व आलोचना वा केही लेखे मात्रैमा साइबर अपराध अन्तरर्गतको मुद्दा चलाइ जेल चलान गर्ने प्रावधान ल्याएको बेला प्रधानमन्त्रीकै सुचना प्रविधी विज्ञले यस्तो कर्तुत गर्दा सम्बन्धित निकाय मौन रहनुमा सरकारले आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउनु होइन र? सरकारकै जिम्वेवार व्यक्तिले आफुखुसी गैरकानुनी तरिकाले कसैको सिस्टममा अनाधिकृत पहुँच पुर्याइरहँदा सोही व्यक्तिले संचालन गरिरहेको ई सेवामा ग्राहकका सूचना र रकम सुरक्षित छन् भनेर यकिन गर्न सकिने आधार छैन। यसलगत्तै सामाजिक संजालहरुमा ई-सेवा प्रति सर्वसाधारणहरुले चर्को आक्रोश व्यक्त गरेका छन भने कतिले त ई-सेवा एप नै हटाएको बताएका छन । केही प्रयोगकर्ताहरुले त ट्विटरमा #LetsBoycottEsewa ह्यासट्याग समेत चलाए।




Sunday, December 22, 2019

कविता- बुख्याच्याँ

महोदय !
घडीको सुइभन्दा पर बाँचेर
जिर्ण अस्थिपन्जरको संरचनामा
आफुलाई जसोतसो उभ्याएर
धेरै परबाट नियाल्दा
मानवाकृती जस्तै लाग्ने
आजभोलि बुखुच्याँ: जस्तै भएको छु म ।


तपाई के कुरा गर्नुहुन्छ ?
धेरै भिन्नता छ,
हजुरको र मेरो अस्तित्वमा
धेरै अन्तर छ,
हजुरको र मेरो धरातलमा ।

म आफुले त आफैलाई
'म' हुनुको वोध गर्न सक्दिन ।
राखेर हात आफ्नै छातीमा,
आफ्नै हृदयको स्पन्दन महशुस गर्न सक्दिन ।।

तर तपाईं भन्नुहुन्छ,
मैले हजुरको अवमूल्यन गरे भनेर ।
तपाईं दोहोर्‍याईरहनुहुन्छ
मैले हजुरको इज्जत गर्न जानिन ।।

खै कसरी बिर्सनुभो कुन्नी !
अवमूल्यन गर्नलाई नि मुल्य चाहिन्छ ।
इज्जत दिनलाई इज्जत चाहिन्छ ।
अन्ततः हजुर नझुक्किनुहोला,
उ पर कतै किनारमा
किंकर्तव्यविमुढ भएर
एकनासले उभिरहेको
बुख्याच्याँ: म नै हुँ ।

तस्वीर : गुगल 


 Image result for lost in the dark



Saturday, June 22, 2019

(कविता) -अनावरण- अन्जना बस्नेत

कन्कालभित्र
लत्रिएको तमाम अभिमानहरु
तिमिले छुन सक्दैनौ 
जसरी आकाशको शरीरलाई 
हामी स्पर्श गर्न सक्दैनौँ ।


नभन हे 
बिचारश्रङ्खलाका नालायक पात्र हो 
कि म चिहानको खटिया पर्खिरहेछु ।
म त केवल आत्माको सनातन नाटकको निर्देशन गरिरहेछु
समाएर आफ्नो ध्यान सुन त, 
सहअस्तित्व घुमिरहेछ फनफनी 
यताकता निरर्थक लागेको जीवन ।


रोक्न 
कहाँ सक्यौ र तिम्ले जन्मनुबाट,  
त्यसैले दुःख नगर ! 
पटक्कै नगर ! 
त्यो चक्रको वेग रोक्न 
तिम्रा सुकेका तृष्णाले 
 मृत्युतुल्य स्वादले
नभए 
आँधिमा झै कहालिएको 
आवजलाई सुनिरहन्छ 
चक्रबिन्दुको मेरो दृश्यले मात्र सुनिरहन्छ 
हो सुनिरहन्छ ।।

- अन्जना बस्नेत (अन्जनात्मक गल्ती)




स्तो पनि भयो । एकपटक मलाई एउटा अपरिचीत फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । धेरैपटक फेक आइडीहरुले सताएका कारण जोकोही को रिक्वेस्ट हत्तपत्त स्वीकार गरिहाल्ने बानि छैन मेरो । प्रोफाईल राम्रोसंग चेक गरेपछी फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरे । प्रोफाईल पिक्चरमा निकै कम उमेर लाग्ने किशोरी थिइन् । म्युचुअल फ्रेन्ड पनी कोही थिएनन् । एकदुइवटा पोष्ट हेर्दा लाग्यो उनी साहित्य प्रेमी हुन् । कुरा बुझ्न मैले नै वार्तालापको शुरुवात गरे - र पठाए " Hi " उताबाट जवाफ आयो "Hello"
 उनि साच्चिकै म भन्दा निकै कम उमेरकी बहिनी रहिछन् । केहीबेर अनलाईन भलाकुसारी भयो । तर उनि कसरी म संग सामाजीक संजालमा जोडिन आईपुगिन मलाई थाहा भएन । कहाँ  भर्खरै कक्षा ११ मा पढ्दै गरेकी एक  किशोरी अनि कहाँको म २५ काटिसकेको पुरुष- गफिन उस्तो मन लागेन । केही दिनपछी मैले उनलाई मेरो बहिनी बन्न प्रस्ताव राखे, उनले सहजै स्वीकार गरिन् । हामी दाजु बहिनीको सिमीतता भित्र रहेर कुरा गर्न थाल्यौ । उनी मलाई सम्मान गर्छिन, र म उनलाई आफ्नै बहिनी ठानेर माया गर्छु ।  मलाई उनको बोली र व्यवहारमा झल्कने निर्दोषपना खुब मनपर्छ, मानौ उनको वालापन अझै सकिएको छैन । आ-आफ्ना सबै कुरा  खोलेपछी हामी नितान्त आत्मिय बनेका छौं । उनि मलाई हरेक कुरा आफ्नै दाजु मानेर बाँड्छिन अनि म पनि कुनै कुरा नलुकाई मेरा कथा बताउँछु । एक भेटको क्रममा मैले उनलाई मेरा ति कविता सुनाए जो ब्लग र फेसबुकका भित्तामा छापिन बाँकि थिए । उनले पनि आफ्ना धेरै कविता मलाई सुनाईन् । कलिलै उमेरमा पनि उनको त्यो लेखन क्षमता देखेर म दंग परे । मैले उनको प्रसंसा पनि गरे । त्यो समय जीवन दर्शनका निकै गहिरा कुरा भए । एकपटक उनले यस्तो प्रश्न सोधिन्  ।

अन्जना : दादा- मान्छे कसरी दुखी हुन्छ ?
म : बहिनी जब हामी आफैबाट छुटेर अरुको सम्पर्कमा ज्यादा रहन्छौ तब दुख शुरुहुन थाल्छ ।
अन्जना : के भन्न खोज्नुभएको दादा ? मैले त कुरै बुझिन !
म :  जब हामी आफु भित्रको खुशी  पहिचान गर्न नसकेर त्यही खुशी अरु कसैबाट अपेक्षा गर्न थाल्छौ नि तब त्यहीबाट दुख शुरु भैहाल्छ । किनकी हामी चाहन्छौ कि अरुकसैले हामीलाई खुशी बनाओस् ।
अन्जना : त्यो कसरी दादा ? सबै मान्छे त आफ्नै लागि बाँचेका हुदैनन् र ?
म : अवस्य हो । समस्या यहीनेर छ बुनु । हामी बाँचेका त आफ्ना निम्ती छौं तर स्वार्थपुर्ति अरुबाट गराउँछौ । अरुबाट बढी अपेक्षा राख्दछौ जुन अपेक्षा पछि पुरा हुन सकेन भने हामी मित्रलाई पनि शत्रुमा बदलिदिन्छौ ।
अन्जना : (...................................)
म : किन चुप भयौ तिमी ?
अन्जना : दादा म यी मानव व्यवस्थाका अस्तव्यस्तता देखेर म चिन्तित छु ।
म : तिमी चिन्तित नहोउ । बरु तिमी आफुमा रहेर बाँच्न सिक ।
अन्जना : यी कुरामा म सायद त्यती परिपक्व छैन होला दादा ।
म : अनुवभ र अभ्यासबाट मात्रै परिपक्वता आउँछ । र जीन्दगी जिउने क्रममा यो स्वत: हुनजान्छ ।
अन्जना : के कसैबाट केही कुराको अपेक्षा राख्नु गलत हो त दादा ?
म: हो धेरै हदसम्म यो गलत छ बुनु । वा अत्याधिक अपेक्षा, यसलाई परनिर्भरताको पराकाष्ठा भन्न सकिन्छ । हामी खुशी हुने निहुमा धेरैजनासंग दोस्ती गर्न खोज्छौ त्योपनि केही अपेक्षा राखेर । अन्तत: ति पुरा नुहुदा हामी दुखी हुनपुग्छौ । हामी जतिधेरै संग जोडिन पुग्छौ त्यतीधेरै नै दुखका कारण पैदा हुन जान्छन् । यद्दपी मैले धेरै जनासंग जोडिदैमा दुख पैदा हुन्छ भन्ने मेरो अर्थ होईन तर हामी हरेकबाट केही न केही अपेक्षा त जरुर राखिहाल्छौ त्यसैले विचलन शुरु भैहाल्छ ।
अन्जना : अनि हामी आफैबाट कसरी छुट्न पुग्छौ दादा ?
म : आफुसंग छुट्न र अरुसंग जोडिन निकै  सजिलो छ । तिमी आफै विचार गरि हेर । आत्मीय संगको बिछोडले हामीलाई कति विचलित बनाउँछ, होईन त ? यसको मतलब यो हो कि हामीमा धेरै अट्याच्मेन्ट छ जसले हामी आफु हुनको वोध हुन दिदैन । हामी दुई कुराले प्राय: दुखी भईनैरहन्छौ । पहिलो कुरा हामी आफुलाई अरुसंग तुलना गर्छौ-यसले कि घमन्ड निम्त्याउछ कि मनोवल कमजोर बनाईदिन्छ तर पनि हामी आफुलाई अरुसंग तुलना गर्न छोड्दैनौ । अर्को कुरा : हामी हमेशा प्रतिश्पर्धाको दौडमा हुन्छौ । पहिलो हुनुको चिन्ताले हामीलाई सदा गाँजिरहेको हुन्छ । हामी आफुलाई सदा फ्रन्ट लाईनमा राखिरहन थाहान्छौ ।
अन्जना :(मुस्कुराएर) : दादा आज कस्तो रमाईलो लागिरहेछ मलाई ।।
म : हरेक पललाई तिमी यसैगरी रमाईलोसंग खुशीसाथ बिताउ, वास्तिवक खुशीको अनुभुती तिमीलाई हुन थाल्नेछ ।

त्यसपछी हामी छुटिन्छौ-भरे अनलाईनमा बोल्ने वाचा गर्दै । उनि मलाई कविता पठाउँछिन । म उनको कविता यतिबेला सम्पादन गरिरहेछु ।

- ब्लगर





Tuesday, June 11, 2019

'क्षणभङ्‍गुरता' ~ [कविता]

अहो ।
माथी बादलका गुच्छाहरु
कसरी हलुकासंग उड्छन्
फेरी
निमेषभरमै क्रोधित भएर वेगसंग
आपसमा
ठोक्किदै, गर्जिदै
पत्थर जस्तै बनाएर आफुलाई
निर्ममतापुर्वक वर्षन आइपुग्छन्
दर्जनौ सपनाहरु बोकेका टाउकाहरुमाथी
असिना बनेर ।

जो हिजो अमृत वर्षा बनेर
प्यासी फुलका जराहरु
सिचिंत गरायो ।
कोपिला फक्रायो ।
धुलो पखाल्यो ।

आज असिना बनेर खसिरहेछ
निर्दोष-फुलहरुमाथी
गरिरहेछ बिद्रोह
निरीह जीन्दगीहरुमाथी
चट्याङ खसाएर ।
तर्साईरहेछ-
ममताको काखमा गुटमुटिएर
निदाउन आटेका बाल हृदयहरु ।

बडो अचम्मित भइरहेछु म-
समयको यो क्षणभङ‍्गुरता देखेर
भित्र र बाहिरका तिम्रा अनेकौं
रुप स्वरुप देखेर ।

प्रीय ।
धेरै प्रश्न अनुत्तरित छाडेर
तिमी यसै हरायौ
त्यो धुमिल क्षितीजपारी
कसैको हात समाएर ।
म यता भुइँमा पल्टेर
बादलका अवशेष हेर्दै
कविता लेखिरहेछु ।
समयको क्षणभङ्‍गुरता माथी
प्रश्न गरिरहेछु- मुर्ख बनेर ।।







Friday, June 7, 2019

" वात्सल्य"- [कविता] - बिनोद देउवा



तिम्रै वात्सल्यमा रहेरै त हो
म तिमी भएको र
तिमी म भित्र रहेको !
विवश भए !
बाध्य भए,
र बाँधिए नयाँ बन्धनमा ।
कती सजिलै निष्ठुरी हुँदै प्रश्न गर्यौ तिमीले,
" छोरा नढाँटी भन त,
आजभोली तलाई मेरो याद कती पटक आँउछ ?
" आमा  ! के योवन ,चुम्बन र अँगालोहरुले ,
काख , कोख र जिवन बिर्सिन्छ ?
आँउछ नी याद त ,
आईरहन्छ सास फेरी जसरी !
तर आमा , म अंक ,गणित र गन्तीहरु
केही पनी जान्दीन !



Tuesday, May 21, 2019

कालकोठरीका चिसा रातहरु - (कविता)


त्यो रात दिल खोलेर आकाश रोएपछी
बादलको घुम्टो पन्छाएर 'जून' मुस्कुराएथ्यो
र मैनवत्तिको मधुरो प्रकाशमा
एउटा कविता लेखेथे
आज त्यही कवितामा पाउदैछु - आफ्नै प्रतिविम्व
 तिमी त्यही रातको 'जून' जस्तै मुस्कुराइरहन्छ्यौ
 मेरा स्मृतिका विस्मृत श्रीङ्खलाहरुमा ।

अहो ! समयले पनि कति छिट्टै रंग फेरिसकेछ
 कति छिटै फेरिएछन पालुवाहरु
कति छिटै बदलिएछन् यी मान्छेहरु
 तर बदलिएनन्
यी पिडाका शृङ्खलाहरु
 फेरिएनन्
कालकोठरीका  चिसा रातहरु
 पलाएनन्
फेरि उमंगका टुसाहरु ।

 मात्र दुखका प्रकार फेरिए,
आँसु खसाल्ने शैली फेरियो ।
केवल चोट दिने पात्रहरु फेरिए ।

हृदयलाई मैन बनाएर
सोच्दै छु
म पनि त्यो पत्थरको शालिक भैदिएको भए
 कम्तिमा बाच्नुपर्ने थिएन होला
आखाभरी समुन्द्र बोकेर
छातिभरी पहिरो बगाएर
हृदयभरी ज्वालामुखी फुटाएर


हिजो फेरी त्यसैगरि गर्जीयो आकाश
भयो काला बादलहरुको घमासान युद्दपछि - अतिवृष्टी
फेरि सिन्चित भए धुजाधुजा गरि फाटेका जमिनहरु
पखालियो धुलाम्मे सडक र मुक वृक्षहरु ।

फरक यत्ति छ,
पहिले तिमी थियौ,
आज मौनता छ
पहिले तिमी फुल्थ्यौ,
आज क्याक्टस फुलेको छ

चुपचाप चुपचाप मेरा कहानी सुनिदिने बहिरा भित्ताहरु छन्
आर्यघाट जस्तै लाग्ने एष्ट्रे छ
वस् !
फोक्सोले कर्तव्य बिर्सेको छैन
रक्तसञ्चार रोकिएको छैन ।।



Thursday, May 2, 2019

सपनाको बिलाप ! (कविता) - सुमिना 'अभिलाषी'

खै कसरी पो ,
फूल्न र फल्न सकिन्छ र ?
यो बिकृत जमिनको पिंदबाट
उम्रनु पनि अभिषाप रहेछ !

म त झन् अभावको पराकाष्ठामा ,
थुनिएको कैदी मानचित्रबाट ,
रचिएको एक अबैध सपना !

जसले जन्मिन मात्र पनि
कैयौं अवरोधहरूको सामना गर्नु पर्यो !
अझ यहाँ त तैनाथ छन्
जिन्दगीको राजधानिमा चोकै पिच्छे
कैयौं ठमेलहरू !
अभावलाई हतियार चलाइ
आकर्षक गर्छ्न
प्रलोभनको ललिपप देखाइ
 फसाउन आतूर बन्दै
स्निग्ध सुकुमारी हरूलाई !
र चढाउछ्न् निर्ममता पुर्वक !
यौवनका प्यासाहरूलाइ !
महंगो डिल गरेर ,
सुम्पिन्छ्न् कुमारी रातहरूलाई !

खै कसरी फूल्न र फल्न सकिन्छ र ?
 यो बिकृत जमिनको पिंदबाट त ,
उम्रनु पनि अभिषाप रहेछ !

 हो ! यहाँ त तैनाथ रहेछ्न् !
 चोक - चोकमा दलालिहरू !
बाध्यताको फाइदा उठाइ ,
कर्जा दिन्छ्न् जवानी धितो राखेर !
 र अनुपयुक्त समयमा ,
खुलेयाम अस्तित्वको धज्जि उडाइ
जिन्दगी नै लिलाम गरिदिन्छ्न् !

पेण्डिङमा बस्छ्न् सालौं साल सम्म
योग्यता र सर्टिफिकेटका दस्तावेजहरू !
लामो लाइनमा टाँगिन्छ्न सरिफहरू !
भुनभुनाउन थाल्छ गेट बाटै कार्यलयहरूमा !
नातबाद - कृपाबाद र घुसपैठका दुर्गन्धित फ्लेवरहरू !
घुम्ने कुर्चिबाटै कामुक आँखा लगाउछ्न्
हाकिमहरू !

खै कसरी पो, फूल्न र फल्न सकिन्छ र ?
 यो बिकृत जमिनको पिंदबाट
उम्रनु पनि अभिषाप रहेछ !

 म त झन् ,
अभावको पराकाष्ठाले थुनिएको कैदी
मानचित्रमा रचिएको अबैध सपना !
 जसले जन्मिन मात्र पनि ,
 कैयौं अवरोधहरूको सामना गर्यो !
थकित अन्दाजमा ला.....मो सुस्केरा फाल्छ्न् !
, हरेक राती अवचेतनामै लामो बिलाप गर्छ्न
म संग
यसै गरि मेरा आजित सपनाहरू !!



















सुमिना 'अभिलाषी'-बुटवल (रुपन्देही)

Thursday, April 25, 2019

गजल - सुनिल बसौला

आशीर्वाद लिन पैताला छुन्छ निदारले पनि
किन भाग्यलाइ दोषी बनाउछ हारले पनि 



अरे मान्छेहरु सम्बन्धका लागि प्रेम गर्दैछन 
अचानो बनाएको छ मलाइ त प्यारले पनि 



आखामा छोरा राखेर क्षितिज कुर्ने आमा 
छोराको लास पो ल्याएछ अखाबारले पनि



 बुद्ध बन्ने रहरले मलाइ हिटलर बनाएको हो
 अपराधीलाइ छुटकारा दिन्छ कारागारले पनि 



यसकारण अल्झिएको गल्बन्दि तान्न सकिन 
उहि बाटो फर्किन दिएन तिम्रो अनुहारले पनि

Monday, April 22, 2019

अमृता, साहिर र इमरोजको पागल प्रेम

-अनुपम पोख्रेल
धेरैपल्ट धेरैले सुनाएको कथा हो, यो । न उमेरको सीमा हुन्छ प्रेममा, न जन्मका बन्धन हुन्छन् भनेर ठ्याक्कै उदाहरण दिनुपर्दा यिनीहरूकै कथा हाल्ने गर्छन् कवि, लेखकहरू । बलिउडका अनेक निर्देशकले अनेक पल्ट सिनेमा बनाउने कल्पना गरेको कथा हो, यिनीहरूको । प्रेम गरेर गरिँदैन । खै कसरी कसरी, आफैं हुन्छ ।
हामीले गरेर हुने भए त कोही कसैलाई घृणा नै किन पो गथ्र्याे होला ? संसारमा वैरभाव नै प्रबल किन पो हुन्थ्यो होला ? हिजोसम्म सामान्य लाग्ने गरेको मान्छे, आज ऊसँग प्रेम भएपछि ऊ नै ईश्वर हो झैं लाग्न थाल्छ । प्रेम नै त हो, जसको प्रकाशमा हामीभित्रको काव्य प्रतिभा प्रस्फुटित हुन्छ । प्रेम नै नगरेको लेखक के
लेखक ? कवि के कवि ? चित्रकार के चित्रकार ? 
प्रेममा नियम पनि हुँदैन । कुनै वर्जना यसले टेर्दैन । प्रेम त प्रकृति हो । प्रकृति निर्बाध हुन्छ । यसले कुनै छेकछन्द जान्दैन । जीवनमा शान्ति र हाइसन्चो चाहनेले प्रेम नगरे हुन्छ । यसले कहाँ डढाइदिन्छ, कहाँ भिजाइदिन्छ त्यसको ठेगान हुँदैन । कसैले भनेका छन् कतै, ‘पानीजहाज सबैभन्दा सुरक्षित समुद्रको किनारमा हुन्छ । त्यसो भन्दैमा त्यो किनारमा बसिरहनकै लागि भनेर बनेको हैन ।’ 
प्रेममा दुख, कष्ट होला तर मान्छे प्रेम नगर्न बनेको होइन । प्रेम आफैंमा एउटा कला हो । त्यसमाथि जब दुई कलाकार एकआपसमा चुर्लुम्म डुबेर समाजका नियमहरूलाई नटेरी एकअर्कालाई प्रेम गर्छन्, तब के हुन्छ ? सुफी सन्त कवि रुमी लेख्छन्, ‘भाषा, नियम कानुन अनि सही र गलतको धारणाभन्दा धेरै पर एउटा मैदान छ । म तिमीलाई त्यहीँ भेट्ने छु ।’ ठ्याक्कै त्यस्तै भयो यिनीहरूको जीवनमा पनि ।
कथा हो, अमृता प्रीतम र इमरोजको । यसमा मध्यान्तरअघिका नायक भने अर्कै छन् ।
सन् चालीसको दशक थियो । भारतका गल्लीगल्लीमा आशाको लहर छाएको थियो । छिट्टै भारत स्वतन्त्र हुनेवाला थियो । यस बेला मानौं त्यहाँको हावामा पनि परिवर्तनकै
सुवास बहेको थियो । स्वतन्त्र भारतको सपना देखेर घरघरबाट इन्कलाबका नारा घन्किन थालेका थिए । स्वतन्त्रता संग्रामको यो महायज्ञमा आफ्ना तर्फबाट सकेको जति योगदान गर्न सबै तम्सिएका थिए । कोही हतियार लिएर, कोही कविता लिएर । 
भारत युगान्तकारी परिवर्तनको सँघारमा थियो । लाहोरका सडक आफ्नो कविताको रापले रन्काइरहेका थिए, आगो ओकलिरहेका थिए कवि साहिर लुधियानवी । यही समयमा, सुन्दरताकी प्रतिमूर्ति मानिएकी कवयित्री अमृताले प्रीतम साहिरसँग एकतर्फी प्रेम गर्न थालिन् । अमृताको सुन्दरताको वर्णन गर्दै कुनै समकालीन साहित्यकारले लेखेका छन्, ‘सिंगमर्मरमा कुँदेर बनाइएकी, मन्दिरमा राखेर पुजिनुपर्ने, राधाकी मूर्तिजस्ती ।’
सोह्र वर्षकै उमेरमा एक धनाढ्य व्यापारीसँग उनको विवाह भएको थियो । विवाह सुखद थिएन । आफ्नो वैवाहिक जीवनमा पाउन नसकेको प्रेम यिनले साहिरका कवितामा भेट्टाउन थालिन् र उनैलाई मनमनै प्रेम गर्न थालिन् । 
सन् १९४४ को कुनै महिना यिनीहरूबीच पहिलो भेट भयो लाहोर र दिल्लीबीचको गाउँ प्रीतनगरमा आयोजित एउटा कवि गोष्ठीमा । साहिर लाहोर बस्थे, अमृता दिल्ली । यो पहिलो भेटपश्चात् उनीहरूबीच पत्रहरू आदानप्रदान हुन थाल्यो । अमृता सारा दूरी मेटाएर साहिरलाई प्रेम गर्न चाहन्थिन् । साहिरलाई भने टाढैबाट गरिने प्रेम मात्र मान्य थियो । उनी आफ्नो अराजक जीवनमै मस्त थिए । 
प्रेम चुपचाप बस्न सायद रुचाउँदैन । वा सायद अमृताको विद्रोही स्वभावले चुपचाप बस्न रुचाएन । उनले साहिरलाई प्रेम गर्ने गरेको कुरा गोप्य रहेन । एकपल्ट फोटो खिच्न बसेकी अमृतालाई लेख्दै गरेको जस्तो पोज दिन भनियो । उनले पोज दिउन्जेलमा एउटा खाली कागज ‘साहिर’ ‘साहिर’ लेखेर भरेकी थिइन् ।
साहिरलाई आफूले प्रेम गर्ने गरेको कुरा अमृता गर्वका साथ सुनाउने गर्थिन् सबैलाई । यहाँसम्म कि साहिरले पिएर छाडेका चुरोटका ठुटा जम्मा गरेर उनी त्यही पिउँथिन् । आफूले कुनै दिन बच्चा जन्माए त्यो साहिरजस्तै जन्मियोस् भन्ने कामना गर्थिन् । अमृताले साहिरलाई गर्ने प्रेम पागलपनभन्दा कम थिएन । ‘साहिर मलाई भेट्न आउने गर्थे कहिलेकाहीँ । मेरो कोठामा बसेर चुपचाप चुरोट पिउँथे । त्यस बेला मलाई लाग्थ्यो, मेरो हृदयभित्रको मौनता गएर त्यो कुर्सीमा बसेको छ । उनले आधा पिउँदै, निभाउँदै, फेरि अर्को सल्काउँदै गरेर जम्मा भएका ठुटा म जतन गरेर दराजमा राख्थेँ । उनी गइसकेपछि म ती ठुटा सल्काउँथेँ । आफ्ना औंलामा ती ठुटा च्याप्दा मलाई साहिरकै हात समाएझैं लाग्थ्यो । यसरी नै मलाई चुरोट पिउने बानी लागेको हो । चुरोट पिउँदा मलाई सधैं साहिर मेरै निकट छन्झैं लाग्थ्यो । हरेकपल्ट मैले चुरोट पिएर उडाएको धुवाँबाट मानौं अलादिनको चिरागबाट निस्कने जिन्नझैं गरी साहिर निस्कन्थे ।’ आफ्नो आत्मकथा ‘रसिदी टिकट’मा अमृता प्रीतमले लेखेकी छन् । 

साहिर शब्दका जादुगर थिए । अनेक व्यक्तिका सपनालाई उनले शब्द दिए तर आफैं भने कसैको साकार सपना बन्न कहिल्यै सकेनन् । साहिरका लागि प्रेमको मूल्य एउटा कविताभन्दा बढी केही थिएन । उनी भन्थे, ‘मेरा हरेक प्रेमसम्बन्धबाट म कमसेकम एउटा कविता आश गर्छु । त्यसभन्दा बढी मलाई केही चाहिँदैन । मैले प्रेम गर्ने नै गीत, कविता रच्न हो ।’ 
सायद साहिरले पनि अमृतालाई प्रेम गरेका हुँदा हुन्, तर त्यसरी नै जसरी उनी अरू अनेकन महिलालाई गर्थे । अमृता उनको जीवनमा न प्रथम स्त्री थिइन् न त अन्तिम नै । अमृतालाई यो थाहा नभएको हैन । त्यसैले साहिरबाट उनलाई खासै केही अपेक्षा थिएन । जब जब यी दुई भेट्थे, एक शब्द बोल्दैन थिए रे । साहिर चुपचाप चुरोट पिउने, अमृता उनलाई हेरिरहने । केही बेरमा साहिर उठेर गएपछि अमृता ती ठुटा जम्मा गर्ने र तिनलाई दराजमा राख्ने । बस् त्यत्ति ! 
सन् १९५० ताका भने अमृताको हृदय राम्रै टुट्यो । साहिर बलिउडमा यसरी जमेका थिए, त्यस बेलाका सबैभन्दा कमाउ गीतकार उनै थिए । भारतीय सिने जगत्मै उनलाई चाहने अनेक थिए । एक दिन साहिरलाई फोन गर्न लाग्दै गर्दा अमृताका आँखा एउटा सिने पत्रिकामा पर्‍यो जहाँ साहिरको अफेयर चल्दै गरेको खबर छापिएको थियो, गायिका सुधा मलहोत्रासँग । 
अमृताका हात त्यो देख्नासाथ मानौं त्यहीँ जमे । फोन गर्नै सकिनन् उनले । यो एउटा कथा यसरी अधुरै रह्यो । साहिरले अमृतालाई प्रेम नगरेका हैनन्, तर उनी बादलझैं उन्मुक्त र आवारा जीवन बिताउन चाहन्थे । कोही एक व्यक्तिसँग
बाँधिएर बसेमा आफ्नो सिर्जनशक्ति मर्ने कुरामा उनलाई विशेष चिन्ता थियो ।
अमृताले चिया पिइसकेर छाडेको एउटा जुठो कप साहिरले जतन गरेर नधोई राखेका थिए । चियाको त्यही जुठो कप, चुरोटका केही ठुटा, केही कथा, केही कविता र केही यादमै सीमित रहन पुग्यो अन्त्यमा साहिर र अमृताको यात्रा । 
साहिर भन्थे, ‘अन्त्य लेख्न नसकिने कथाहरूलाई एउटा सुन्दर मोड दिएर त्यहीँ छाडिदिनुपर्छ ।’ अमृताको प्रेमकथामा अब नयाँ मोड आयो । अथवा भनौं अब अर्को एउटा कथाको सुरुआत भयो ।
अमृता आफ्नो पुस्तकका लागि कभर डिजाइन गरिदिने चित्रकारको खोजीमा थिइन् । यही क्रममा उनको भेट इमरोजसँग भयो । अमृताले इमरोजलाई पहिलोपल्ट भेट्दा उनी दुई सन्तानकी आमा भइसकेकी थिइन् । इमरोज अमृताभन्दा आठ वर्ष साना थिए । तर जसै इमरोजको आगमन भयो उनको जीवनमा, मरुस्थल बनिसकेको उनको हृदय फेरि गुलजार भयो । फेरि वसन्त आयो । उनले फेरि कविता लेख्न थालिन् । 
इमरोजले अमृतालाई यसरी स्वीकार गरे, जसरी हामीले सुन्ने गरेका ‘साँचो प्रेम’का कथाहरूमा गर्ने गरिन्छ । इमरोजको स्कुटरपछाडि सिटमा सवार भएकी अमृता कहिलेकाहीँ आदतवश इमरोजको ढाडमा आफ्ना औंलाले ‘साहिर’ लेखिदिने गर्थिन् । इमरोज थाहा पाएर पनि चुपचाप बसिदिन्थे । उनलाई अमृता जे जसरी, जस्ती थिइन्; त्यसरी नै स्वीकार्य थिइन् । त्यसैले त अमृता लेख्छिन्, ‘इमरोज देउता हुन् । उनले मेरो अतीतलाई त स्वीकार गरे नै, मेरा सारा पीडालाई समेत आत्मसात् गरे । आफ्नो बनाए ।’ 
साठीको दशकको सुरुआतमा इमरोजले अमृतालाई निरन्तर पत्र लेखे । उनको प्रेम पाउन आफू लालायित रहेको अनुनय गरे । चित्रकार थिए इमरोज । एउटा पत्रमा उनले लेखे, ‘मेरा चित्रहरू तिमीले नहेरेसम्म अपूर्ण नै रहन्छन् जस्तो लाग्छ मलाई अमृता । तिमीले नहेरिदिए मेरा चित्र केही धर्सा र रङको संयोजन मात्र हुन् ।’ कविहृदय प्रेमको यस्तो निमन्त्रण कहिलेसम्म पो बेवास्ता गरेर बस्न सक्थ्यो र ? 
अन्तत : अमृताले आफ्नो पतिसँग छोडपत्र गरिन् । अमृता र इमरोज सँगै बस्न थाले । विवाहको औपचारिकता दुवैलाई आवश्यक थिएन । अमृता इमरोजलाई भन्थिन्, ‘साहिरलाई चौध वर्ष प्रेम गर्न लगाएर मलाई ईश्वर तिम्रा लागि तयार गराउँदै रहेछन् इमरोज ।’ 
सन् १९५८ ताका इमरोज जागिर खान बम्बई जाने भए । गुरु दत्तले आफूसँग काम गर्न आउने निम्ता पठाएका थिए उनलाई । अमृतालाई यो कुरा मनमनै मन परिरहेको थिएन । टाढा गएर कतै साहिरले झैं आफूलाई बिर्सिने पो हुन् कि भन्ने डर हुँदो हो उनको मनमा । तर इमरोजको खुसी देखेर मुखैले भने रोक्न सकेकी थिइनन् । 
जान तीन दिन बाँकी छँदा अमृताले इमरोजलाई भनिन्, ‘म यी तीन दिन आफ्नो जीवनकै अन्तिम दिन हुन् जसरी बिताउन चाहन्छु ।’ तीन दिन उनीहरूले अमृताको इच्छाअनुसारका गतिविधि गरेर बिताए । इमरोज बम्बई जानासाथै अमृतालाई ज्वरो आयो । इमरोज पनि अमृताबाट टाढा रहेर बस्न नसक्ने भए । बम्बई पुगेको अर्को दिन नै उनले फोन गरेर आफू फेरि दिल्ली फर्किन लागेको बताए । इमरोज दिल्ली फर्किने दिन रेल्वे स्टेसनमा अमृता कुरेर बसेकी थिइन् । इमरोज फर्किनासाथ उनको ज्वरो ठीक भएको थियो । 
एकै घरमा बस्दा पनि अमृताको लेखनमा व्यवधान नहोस् भनेर इमरोज अलग्गै कोठामा बस्थे । भन्थे, ‘के भयो र घरभरि उनको वासना छँदै छ । मलाई त्यति नै काफी छ ।’ मध्यरात आफ्नो कोठामा मस्त लेख्दै गरेकी अमृतालाई चिया बनाएर लगिदिन्थे इमरोज । अमृता टाउकै नउठाई लेखिरहन्थिन् । यही क्रम चार दशकसम्म चल्यो ।
चालीस वर्ष उनीहरू सँगै बसे । तबसम्म, जबसम्म अमृताको देहान्त भएन । कष्टप्रद देहान्त । संसार छाड्नुअघि अमृताले इमरोजका लागि भनेर एउटा कविता छाडेर गइन् ।
‘मैं तेन्नु फिर मिलांगी...’
 म तिमीलाई फेरि भेट्नेछु ।
कहाँ र कसरी, त्यो म जान्दिनँ
सायद तिम्रो कल्पना बनेर आउनेछु
सायद तिम्रो क्यानभासमा
कुनै धर्को बनेर कोरिनेछु
र तिमीलाई टुलुटुलु त्यहीँबाट नियाल्नेछु ।
तिम्रा रङहरूले अँगाल्ने घामका किरण पो बन्छु कि ?
थाहा छैन कसरी र कहाँ
तर हामी फेरि भेट्नेछौं ।
शरीर नरहे पनि
टुक्राटुक्रा यादहरू त रहलान् नि कतै
तिनै यादहरूका टुक्रा
बटुल बाटुल पारेर एउटा माला गाँस्छु
र म फेरि आउँछु ।

रोगले च्यापेको बेला अमृता कराउँथिन्, छटपटाउँथिन् । साइनाइड ल्याएर आफूलाई दिन अह्राउँथिन् इमरोजलाई । इमरोज मायाले फकाउँथे, जिस्क्याउँथे । भन्थे, ‘हिजोआज सक्कली साइनाइड कहाँ पाइन्छ र ?’
आफूहरूबीचको उमेरको फरकका बारेमा सोचेर अमृता इमरोजलाई भन्थिन्, ‘तिमी मेरो जीवनमा यति ढिलो किन
आयौ ? समयले मेरो उमेरको राप खोसिसकेपछि किन
आयौ ? मेरो जीवनको ढल्दो साँझमै तिमी आउनुपर्ने ? उज्यालो छँदै तिमी किन भेटिएनौ ?’ 
इमरोज यसको उत्तरमा भन्थे, ‘साँझै सही, तिमी कति सुन्दर साँझ हौ थाहा छ ? आऊ हामी यो साँझ हाम्रो देह, आत्मा, हृदय र हाम्रा समस्त प्रतिभाले सिँचौं । यो सुन्दर साँझ मेरा लागि उत्सवभन्दा कम छैन अमृता । तिमी मेरो जीवनमा साँझ भएर आए के भो ? म त्यो साँझ आफ्नो समस्त सामथ्र्य र जवानीका साथ बाँच्नेछु ।’
अमृतालाई सम्झेर इमरोजले भनेका छन्, ‘उनलाई पहिलोपल्ट देख्नेबित्तिकै मलाई लागेको थियो, मैले आफ्नो बाँकी जीवन साथै बिताउने सहयात्री पाएँ । र ठ्याक्कै त्यस्तै भयो । म जिउँदो रहुन्जेल अमृता मर्दिनन् । उनी मभित्र अझै जीवित छिन् ।’ 
अमृताले इमरोजलाई एकपल्ट भनेकी थिइन्, ‘तिमी अझै जवान नै छौ । जाऊ एकपल्ट संसार घुमेर आऊ । त्यसपछि पनि मै मन परेँ भने अनि सोचौंला ।’
सुन्दा कथाजस्तो लाग्छ तर तत्क्षण इमरोजले अमृताको वरिपरि सात फन्को लगाएर ‘संसार घुमी आएँ म । मलाई अझै पनि तिमी नै चाहियो’ भनेका थिए रे ।
अमृताको देहान्त भएयता इमरोजले पनि कविता लेख्न थाले । अमृताको ‘म तिमीलाई फेरि भेट्नेछु...’ को उत्तरमा इमरोजले लेख्छन्, ‘तिमीले शरीर छाडेकी हौ, साथ हैन ।’ 
साहिर र अमृताको सम्बन्धलाई लिएर तपाईंको मनमा कहिल्यै कुनै ईष्याभाव उत्पन्न भएन ? भनेर इमरोजलाई सोध्दा उनी भन्छन्, ‘साहिरसँग अमृताको कहिल्यै कुनै सम्बन्ध नै थिएन । साहिर अमृताको कल्पना मात्र थिए । म उनको यथार्थ । साहिरको कल्पनाले उनलाई सधैं पीडा मात्र दियो, र मसँगको साथले उनलाई पूर्णता ।’
र, एक दिन जब वर्षौंपछि इमरोजको साथमा आएकी अमृतासँग बम्बईमा कतै जम्काभेट भयो साहिरको,
उनले लेखे  :
‘महफिल से उठ जाने वालों
तुम लोगों पर क्या इलजाम...
तुम आवाद घरों के वासी
मैं आवारा और बदनाम...’ 
(यो लेख  २०७६-०१-७ मा प्रकाशित अन्नपुर्ण पोस्टबाट साभार गरिएको हो)